इटहरीः ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताको पहिलो अर्थात् छनौट चरणको अडिसन आगामी ७ चैतमा हुनेछ ।  काठमाडौँको बानेश्वरस्थित होटल रानी महलमा आयोजना हुने अडिसनमा सहभागिताका लागि अनलाइनमार्फत्, ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय, होटल रानीमहल र आधिकारिक फेसबुक अकाउन्टबाट आवेदन फर्म भर्न सक्नेछन् । प्रतियोगिताको यो तेस्रो सिजन हो । २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले सहभागिताका लागि आवेदन दिन सक्नेछन् । विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूको भविष्य सुधार्ने उद्देश्य रहेको प्रतियोगिता ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिकी प्रिति कार्कीले बताइन् । शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको कोरियोग्राफी अश्विनी झाले गर्नेछन् । अश्विनी नेपालका चर्चित तथा सबैभन्दा व्यस्त कोरियोग्राफर हुन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, मोटिभेसन, लिडरसिप, पब्लिक स्पिकिङ, करियर काउन्सिलिङलगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए । प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेसनल’मा सहभागिता जनाउन पाउनेछन् । ‘मिसेस नेपाल ग्ल्याम’को उपाधि यसभन्दा अगाडि अलाइजा महर्जन, मिनु प्रधान लगायतले जितेका थिए । अलाइजाले ‘मिसेस इन्टरनेसनल २०१८’ प्रतियोगिताबाट ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्यु अल ब्यूटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअप’ उपाधिसमेत नेपाल भित्र्याएकी थिइन् । गत वर्ष कोरोनाका कारणले प्रतियोगिता आयोजना हुन सकेको थिएन । यस वर्षबाट त्यसले फेरि निरन्तरता पाएको हो ।