इटहरीः नेपाली संगीत आकाशमा माया, प्रेम र बिछोडका गीतले ढाकिएको छ ।

कुनै बेला थियो कमेडी गीतले पनि बजार तात्ने । अहिले, कमेडी गीतको बजार लाग्नै छाड्यो भन्दा फरक नपर्ला । तर, यदाकदा भने कमेडी गीत अहिले पनि सार्वजनिक भइरहेका छन् । यस्तैमा कलाकार तथा कमेडी गीत गाउँदै ’बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलले कमेडी गीत युट्युबमा सार्वजनिक गरेका छन् । लुइँटेल यतिबेला आफ्नो कठिन अवस्थालाई पनि सहज तुल्याउँदै हास्य शैली समालेर निरन्तर लागिरहेका छन् । उनका गीतमा कमेडीका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्थासम्म पनि उनी आफ्नो हास्य विधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाइरहेका छन् ।

IMG_20210305_084102

सार्वजनिक उनको स्वरमा रहेको ’मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भैपरी आउने घट्नाक्रमलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । थारु भाषाबाट ’मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेस गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबीभित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाव्यथालाई पनि गीतमा रमाइलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरुको पनि विरोध गरिएको छ । ५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनि गहन विषयमाथि तयार गरिएको छ । गीतका शब्दहरू हरिगोपाल अधिकारीले कोरेका छन भने संगीत श्रीकृष्णले नै भरेका छन् । जोनि योन्जनले एरेन्ज गरेको गीतलाई सनलाइट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा श्रीकृष्ण आफैँ फिचर्ड छन् भने उनीसँगै कृष्ण भण्डारीलगायत अन्य कलाकारहरु पनि देखिएका छन् । सुवास लिम्बू मेन्यान्बोले छायांकन तथा सम्पादन गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ’बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

IMG_20210305_084142