इटहरीः आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यही सन्दर्भमा निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् ।

गितान्जली थापामगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन् । फागुन २० गते बिहीबार हाइलाइटस् नेपालबाट रिलिज भएको ‘आमा कहाँ खोजुँ ? म्युजिकल स्टोरीमा बालकलाकार नेरेश्का स्थापितले आमा खोज्ने भूमिका निभाएकी छन् भने रुबी मैनालीले सानी छ महिनाको छोरीलाई खोलाको किनारमा छोड्न विवश आमाको भूमिका निभाएकी छन् । सानी बालिकाको निदोर्ष भूमिका सारिका दाहाल र आश्रमकी आमा सृष्टी थापामगरको रहेको छ । यस कथामा, अनाथ आश्रममा हुर्किरहेकी १० वर्षकी छोरीले जन्म दिने आमाको खोजी गरेको कथा छ । जन्म दिने आमाले विविध कारण र विवशताले आफ्नो नवजात शिशुलाई फाल्न बाध्य रहेको कथा छ । अनाथ अश्राममा रहेकी छोरीे जब बिस्तारै ठूली हँुदै जान्छे, जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भएपनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भएपनि उनलाई जन्म दिने आमाको अभाव महसुस हुुन्छ । एक दिन अचानक, आफू सानो छँदा खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे ।

उनलाई अझ बढी आमाको आवश्यकता महसुस हुन्छ । यसमा छोरीको धारणाबाट कथालाई प्रस्तुत गरिएको छ । यो हाम्रो समाजमा देखिने हजारौँ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो । आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पीडाहरु, बनावटी खुसीहरु, आघातित बाल मनोविज्ञान र जीवनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारौँ शिशु अनाथ हुनुमा एउटी आमाभन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ? एकल महिलाबारे कानुन असहज हुनुको पछाडि केही हदसम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न यस कथाले गर्छ ।

यस सांगीतिक फिल्ममा गितान्जली थापाको स्वर, निर्देशक स्वयंको शब्द रहेको छ भने संगीतकार र अरेन्जर याकुब राई रहेका छन् । दीपक बज्राचार्यको छायांकन र निर्माणमा टेकबहादुर थापा र राजु थापा रहेका छन् । एम मिडिया प्रा.लि.को निर्माणमा निर्देशक थापामगरले यसअघि द कोरियन ड्रिम, बरिड इन टियस्, ड्रिम एण्ड रियालिटीजस्ता डकुमेन्टरी फिल्मबाट विभिन्न नौ वटा अन्र्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।