इटहरीः नेपाल पत्रकार महासंघ केन्द्रीय समितको आयोजना र नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा सातदिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

गत फागुन १७ गतेबाट सुनसरीको इटहरी र इनरुवामा भएको तालिम आइतबार सम्पन्न भएको हो । तालिममा सुनसरीका ४० जना नयाँ तथा पुराना पत्रकारहरुको सहभागिता रहेको थियो । सुनसरीका सञ्चारगृहमा आएका नयाँ पत्रकारहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको महासंघका सुनसरी अध्यक्ष अमर खड्काले जानकारी दिए । उनले धेरैजसो कसैको लहैलहैमा लागेर वा रहरले पत्रकारितामा लाग्ने गरेको र उनीहरुमा आधारभूत ज्ञान नै नहुने भएकाले यो तालिमले विशेष भूमिका खेल्ने बताए । उनका अनुसार पुनः ६ महिनापछि एड्भान्स पत्रकारिता पनि सञ्चालन हुने छ । युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व–अध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले गरेका थिए ।

पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएकाले नयाँ पुस्ताको प्रवेश बढेको झाको भनाइ छ । ‘पछिल्लो समय मैले युवा पुस्तामा पत्रकारिताको क्रेज बढेको देखेका छु । यो दुई सातादेखि म पूर्वदेखि पश्चिमसम्म यात्रा गरिरहेको छु । यो क्रममा मैले युवाहरुमा पत्रकारिताको क्रेज बढेको देखेको छु । क्रेज बढ्नुका दुई कारण छन्, पहिलो पत्रकारिताको चार्म र दोश्रोचाहिँ अहिले पत्रकारिता व्यावसायिक बन्दै गएको छ । यी दुई कारणले पत्रकारितामा मोह बढेको हो’, उनले भने । साथै उनले नयाँ पुस्तामा पत्रकारिताको मोह भएपनि आधारभूत ज्ञानको नै अभाव भएको बताएका छन् । तल्लो तहबाट नै पत्रकारहरुलाई अब्बल बनाउन यस्ता तालिमले सहयोग गर्ने उनको भनाइ छ । लामो समयदेखि पत्रकारिता गरिरहेका र नयाँ पुस्ताका पत्रकारले पनि यो तालिमले आफूलाई पत्रकारिता के हो र कसरी गर्ने भन्ने विषयमा थाहा भएको बताएका छन् । आफूले सिकेको कुरा व्यवहारमा पनि प्रयोग गर्ने उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । सहभागीहरुलाई महासंघले आधारभूत तालिमको प्रमाणपत्रसमेत प्रदान गरेको छ ।