इटहरीः कोरोना भाइरस (कोभिड–१९) कारणले विदेशमा यो साता मात्र थप २ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायतमा बस्दै आएका नेपाली हुन् । शनिबार साँझसम्म ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा ३ हजार १० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६ सय ८ जना भने २ लाख ७० हजार ७ सय ७७ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

कुन–कुन अवस्थामा ज्येष्ठ नागरिकले खोप नलगाउने वा विशेष सतर्कता अपनाउने ?
नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् । विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् । विश्वभर हालसम्म २८१ मिलियन मानिसले खोप प्राप्त गरिसकेका छन् । कोरोना भाइरस विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ । खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउन स्वास्थ्य समितिले आग्रह गरेको छ ।