मुम्बईः विगतको तुलनामा बलिउड इन्डस्ट्रीमा महिलाप्रधान चलचित्रहरू बन्ने क्रम बढ्दो छ । यति मात्रै नभई यी चलचित्रहरूले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । पुरुष पात्रबिना महिला हिरोका रुपमा रहेका चलचित्रहरूले पनि बक्स–अफिसमा राम्रो कमाइ गरिरहेका छन् भन्ने उदाहरण प्रशस्त छन् । यस्तैमा सन् २०२१ मार्च ८ अर्थात् आज महिला दिवसका दिन हेर्न सकिन्छ यी महिला प्रधान चलचित्रहरू,

थप्पड
सन् २०२० मा रिलिज भएको तापसी पन्नु अभिनीत ‘थप्पड’ घरेलु हिंसामा आधारित छ । अनुभव सिन्हाद्वारा निर्देशित यस चलचित्रमा एक महिला पारिवारिक जिम्मेवारी निभाउने क्रममा कसरी आफूलाई गुमाउँछिन् भन्ने कुरा देखाउन खोजेको छ । यस्तो परिस्थितिमा थप्पड पनि हिंसाका रुपमा लिइन्छ भन्ने देखाएर समग्र महिलामाथि उनीहरूका पतिले गर्ने कुटपिटको अपराधलाई देखाउन खोजिएको छ । चलचित्रमा तापसीलगायत दीया मिर्जा, ग्रेसी गोस्वामी, अंकुर राठी, मानव कौल, कुमुद मिश्रालगायतको महत्त्वपूर्ण भूमिका छ ।

इङिग्लस विङिग्लस
दिवंगत बलिउड अभिनेत्री श्रीदेवीको मुख्य भूमिका रहेको चलचित्र ‘इङिग्लस विङिग्लस’ आफ्नो सम्पूर्ण जिन्दगी सन्तान र पतिका लागि समर्पित गर्ने महिला, आमा र श्रीमतीको कथा हो । तर यति धेरै गर्दा पनि त्यसको बदलामा पाउनुपर्ने सम्मान उनले पाउँदिनन् । अंग्रेजी भाषा नजानेकै कारण ती महिला आफ्नै पति र सन्तानको मजाक बन्छिन् ।

यसबीच अंग्रेजी सिक्न ती महिलाले गर्ने संघर्ष र सफलताको कथा चलचित्रमा देख्न सकिन्छ । सन् २०१२ मा रिलिज भएको यस चलचित्र गौरी सिन्देले निर्देशन गरेका हुन् । चलचित्रमा श्रीदेवीलगायत आदिल हुसैन, फ्रान्सिसी अभिनेत्री मेहदी नेबबू र प्रिया आनन्दको अभिनय देख्न सकिन्छ ।

क्‍विन
अभिनेत्री कंगना रनौतको ‘क्‍विन’ लाई दर्शकले निकै रुचाए । चलचित्रमा एक मोर्डन युगकी सोझी केटीको कथा देख्न सकिन्छ, जो मागी विवाह र पतिको इच्छाअनुरुप नै आफ्नो जीवनका निर्णय लिनुपर्ने कुरालाई धर्मका रुपमा लिन्छिन् । चलचित्रको ट्विस्ट भनेको केटाले विवाह गर्न नकारेपछि पनि चलचित्रकी मुख्य पात्र (कंगाना) एक्लै हनिमुनका लागि जान्छिन् । चलचित्रमा कंगना र राजकुमार रावको मुख्य भूमिका छ । विकास बहलको निर्देशनमा बनेको यस चलचित्र सन् २०१३ मा रिलिज भएको थियो ।

पिंक
सन् २०१६ मा रिलिज भएको ‘पिंक’ महिला सशक्तीकरणमा आधारित चलचित्र हो । नारी महिला सशक्तिकरणको नारालाई उठाउने चलचित्रकी मुख्य पात्र तापसीले शारीरिक सम्बन्धको मुद्दामा ‘नो’ को मतलब ‘नो’ नै भएको कुरालाई प्रस्ट्याएकी छिन् । अनिरुद्ध रोय चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा तापसी पन्नु, अमिताभ बच्चन, अगन्द बेदी, कीर्ति कुल्हारीलगायतका कलाकारको मुख्य भूमिका देख्न सकिन्छ ।

अज्जी
बलात्कार र बदलाको भावमा बनेको ‘अज्जी’ सन् २०१७७ मा रिलिज भएको थियो । देवाशिष मुखर्जीको निर्देशनमा बनेको यस चलचित्र मुम्बईको झुपड बस्तीमा आफ्नी नातिनीसँग बस्ने एक दिग्गज महिलाको कथा हो ।

आफ्नो १० वर्षीय नातिनीलाई कुनै नेताका छोराले गरेको बलात्कारको न्यायका लागि अज्जीले गर्ने संघर्ष चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा सुषमा देशपान्डे, शरवानी सूर्यवंशी, अभिषेक बनर्जीलगायत कलाकारहरूको प्रमुख भूमिका देख्न सकिन्छ ।

राजी
सन् २०१८ मा रिलिज भएको आलिया भट्टको मुख्य भूमिका रहेको ‘राजी’ मा देशका लागि एक महिलालले मोल्ने जोखिमको यात्रा देख्न सकिन्छ । चलचित्रमा आलिया भारतीय जासुस महिलाको भूमिकामा छिन् । जो आफ्नो देशको रक्षाका लागि पाकिस्तान जान्छिन् । ज्यानको जोखिम मोलेर सबै कुराको बलिदान दिएर पाकिस्तानमा एक जासुसको रुपमा जान दुईपटक नसोच्ने उनले अन्ततः एक्लोपन मात्रै पाउँछिन् । मेघना गुलजारको निर्देशनमा बनेको यस चलचित्रमा आलिया, विकी कौशल, जयदीप अहलावत, सोनी राजदानलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

लिपस्टिक अन्डर माई बुर्का
निर्देशक अलंकृता श्रीवास्तको चलचित्र ‘लिपस्टिक अन्डर माई बुर्का’ सन् २०१६ मा रिलिज भएको हो । भोपालको साँघुरो गल्लीहरूको पुरानो सोचलाई छोडेर नयाँ सोचका साथ जिउन चाहने चार महिलाको कथा चलचित्रमा हेर्न सकिन्छ । चलचित्रमा कोकणा सेन, आहाना कुमरा, रत्ना पाठक शाह र प्लाबिता बोरठाकुरको मूख्य भूमिका छ । यस चलचित्रले कैयौं अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।

एंग्री इन्डियन गडेस
पैन नलिनको निर्देशनमा बनेको यस चलचित्रमा ६ महिलाको संघर्षको कथा हेर्न सकिन्छ । यसन् २०१५ मा रिलिज भएको यस चलचित्रले कसरी सजिलै महिलामाथि अपराधहरू हुन्छन् भन्ने देखाएको छ । गोवामा गएको एउटा मनोरञ्जनात्मक यात्रा कसरी एउटा नराम्रो घटनामा परिणत हुन्छ भन्ने देखाउन खोजिएको छ । चलचित्रमा सन्ध्या मृदुल, तनिष्ठा चटर्जी, सारा जेन डायस, अनुष्का मनचन्दा, अमृत मघेरा, राजश्री देशपान्डे, पावलेन गुजराल र आदिल हुसैनको अभिनय देख्न सकिन्छ ।
– नवभारत टाइम्सबाट