बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकाको सहयोग तथा हेल्पिङ यूथ सुनसरीको आयोजनामा ४ दिने आधारभूत टेलिभिजन पत्रकारिता तालिम सम्पन्न भएको छ ।

फागुन २२ देखि २५ गतेसम्म चकरघट्टीस्थित पारालिगल भवनमा सम्पन्न तालिमको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको प्रमुख आतिथ्यमा शनिबार प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्दै समापन गरिएको हो । प्रमुख अतिथि मेयर खनाल, ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, प्रेस सङ्गठन नेपालको बराहक्षेत्र नगर संयोजक बिमला घिमिरे, द प्राइड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल तथा आयोजक संस्थाका अध्यक्ष विकल पौडेलले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । प्रमाण पत्र वितरण गदै मेयर खनालले बराहक्षेत्र नगरमा सम्पन्न भएको टेलिभिजन पत्रकारिता तालिमले यहाँका युवाहरूमा क्षमतावृद्धि हुनुको साथै पत्रकारितामा अझ निखारपन ल्याउने अपेक्षा गरे । तालिमको सिकाई ले नगरको सकारात्मक र नकारात्मक दुवै पक्षलाई उजागर गरेर पत्रकारिताको धर्म निभाउन प्रशिक्षार्थीहरूलाई शुभकामना दिएका थिए ।

पत्रकारिताले समाजको प्रतिनिधित्व गर्ने भएकाले नगरमा अब व्यावसायिक पत्रकारिताको खाँचोलाई पूर्ति गर्ने खनालले बताए । यस्तै ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीले नगरमा टेलिभिजनसम्बन्धी पत्रकारिता तालिम आयोजनाले यहाँका नव आगन्तुकहरूलाई थप क्षमतावान बनाउने बताए । प्रेस सङ्गठन नेपाल बराहक्षेत्र नगर संयोजक बिमला घिमिरेले चारदिने तालिमले सहभागीहरूलाई टेलिभिजन पत्रकारिताको विषयमा उचित ज्ञान दिन सफल भएको बताइन् । समापन कार्यक्रममा तालिममा सहभागीमध्ये कल्पना कार्की र किसन बस्नेतले तालिम उत्कृष्ट भएको र थप तालिम आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । आयोजक संस्थाका अध्यक्ष विकल पौडेलले आगामी दिनहरूमा समेत नगरपालिकाको सहयोगमा थप तालिम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि मेयर निलम खनाललगायत अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । चारदिने तालिममा एपिवान टेलिभिजनका प्रदेश १ ब्युरो प्रमुख मिलन बुढाथोकी, नेपाल टेलिभिजन इटहरीका उषा घिमिरे, दुर्गा खड्का, कान्तिपुर टिभीका अर्जुन सुवेदी, न्यूज २४ टिभीका मनोज भुजेल र ग्यालेक्सी फोरके टिभीका सन्तोष काफ्लेले तालिमको सहजीकरण गरेका थिए ।