इटहरीः आरटीआरके होटल स्कुलद्वारा सुनसरीको इटहरीस्थित आइतबारेमा सञ्चालित चुलो रेस्टुरेन्टमा बीबीसी रनरअप मास्टर सेफ सन्तोष साहलाई भव्य स्वागत गरिएको छ । बेलायतको चर्चित कुकिङ रियालिटि सो मास्टर सेफमा दोस्रो स्थान प्राप्त गरी विश्वव्यापी ख्याति कमाएका सेफ साहलाई रेस्टुरेन्टकी सञ्चालक रचना थापाले खादा ओढाएर स्वागत गरेकी थिइन् । रेस्टुरेन्टको अवलोकनका लागि आएका साहलाई स्वागत सम्मानसहित रेस्टुरेन्टको मेन्युमा समावेस रहेका फापरको रोटी, आलु तामाको सुप, पोर्क आइटमहरु, गुन्द्रुक, छोइला लगायतका मौलिक खाद्य परिकारहरु चखाइएको थियो ।

chulo master chef2

सेफ साहले रेस्टुरेन्टको आतिथ्यले आफूलाई प्रफुल्ल बनाएको प्रतिकृया दिएका थिए । नेपाली मौलिक परिकारहरुको स्वादमा रमाउनु आफ्ना लागि सन्तुष्टिको विषय भएको बताउँदै सेफ साहले मौलिक परिकारले रेस्टुरेन्टलाई पृथक पहिचानसहित स्थापित गराउन अहम भूमिका निर्वाह गर्ने धारणा राखे । स्वादका साथै सँस्कृतिको संरक्षणमा पनि रेष्टुरेन्टले योगदान दिने बताउँदै उनले चुलो रेस्टुरेन्टलाई गुणस्तरीय सेवा र आत्मीय व्यवहारका साथ ग्राहकको मन मस्तिष्कमा बसिरहन सकोस् भन्ने शुभकामना दिए । सेफ साहलाई रेस्टुरेन्टकी सञ्चालक थापाले मायाको चिनोसहित बिदाइ गरेकी थिइन् ।

को हुन् सन्तोष साह?
पूर्वी तराईको सिरहा जिल्लामा २०४२ साल कात्तिक २० गते जन्मिएका सन्तोष एक गरिब परिवारका सदस्य थिए । कलिलै उमेरमा बाबु गुमाएका सन्तोषका लागि उच्च शिक्षा आकाशको फल साबित भयो । बाल्यकालदेखि नै स्यान्डविच बेचेर धेरथोर आम्दानी गर्र्र्दै आएका उनी पारिवारिक जिम्मेवारीको बोझसमेत आफ्नै काँधमा परपछि १५ वर्षको उमेरमा कामको खोजी गर्दै भारतको गुजरात पुगे । त्यहाँको एक शहरमा भाँडा माझ्ने काम गरी उनले प्रतिमहिना नौ सय रुपैयाँ कमाउन थाले । यो रकम तत्कालीन अवस्थामा उनको कल्पनाभन्दा बढी थियो । सोही होटलमा काम गर्ने सेफहरुका चम्किला लुगा देखेर मुग्ध बनेका सन्तोषमा आफू पनि यसैगरी कुकिङमै रमाउने अभिलाषा जाग्यो । कुकिङप्रतिको उनको मोह देखेर प्रभावित भएका गुजरातका सरोज दासले उनलाई मार्गनिर्देशित गरे । कुकिङ क्षेत्रमा पहिल्यैदेखि स्थापित दासकै सहयोगमा साहले केही होटलहरुमा पनि एसिस्टेन्ट सेफका रुपमा काम पाए ।

chulo master chef3

त्यसै क्रममा क्याटरिङ सेवाको डिप्लोमा कोर्समा अध्ययनको मौका पाएका पाएका उनले त्यसयता पछाडि फर्कनु परेन । त्यसको सात वर्षपछि हिन्दी र अंग्रेजी भाषामा दख्खल बनाएका साह पाँचतारे होटलमा ६० जना कामदारलाई आफ्नो मातहतमा खटाउन थाले । सन् २००९ मा भारत छोडी अन्तर्राष्ट्रिय मञ्चमा अभ्यास गर्न भन्दै उनी मोन्टेनेग्रो पुगे । त्यहाँबाट फर्की गुजरातमै एक फुड फेस्टिवल आयोजना गरेपछि उनी गुजरातकै एक व्यवसायीको नजरमा परे जसले उनलाई बेलायत बोलाए । त्यसयता उनी बेलायतकै राजधानी लन्डनमा रही कुकिङमा लागेका छन् । केही दिनदेखि नेपाल भ्रमणमा रहेका सन्तोष हिजो मात्र इटहरी आएका थिए । त्यस क्रममा उनले चुलो रेस्टुरेन्टको पनि भ्रमण गरेका हुन् । मास्टर सेफ प्रतियोगिताका क्रममा उनले नेपाली मौलिक परिकारलाई विश्वसामु परिचित गराएका थिए ।

chulo master chef4
चुलो रेस्टुरेन्ट
इटहरी क्षेत्रमा नेपालका विभिन्न जातजातिका परम्परागत तथा साँस्कृतिक महत्व झल्काउने खानाका परिकारलाई एकत्रित रुपमा उपभोक्ताको रुचि अनुसार तयार गरी उपलब्ध गराउने भरपर्दो गन्तव्यका रुपमा चुलो रेस्टुरेन्टले आफूलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । रेस्टुरेन्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराइसम्म फैलिएको नेपालको भौगोलिक अवस्था, सँस्कार तथा सँस्कृतिसँग जोडिएका विविध जातिय समूहका मौलिक खानाका परिकार उपभोक्ताको माग अनुसार उपलब्ध गराउने गरेको छ । रेस्टुरेन्टले आफ्नै स्वामित्वमा रहेको आरटिआरके होटल स्कुलमा होटल व्यवसायसँग सम्बन्धित विभिन्न कोर्सहरुको अध्यापनसमेत गर्दै आएको छ ।

chulo master chfef5