इटहरीः मोरङको विराटनगर महानगरपालिकाअन्तर्गत बरगाछीमा रहेको लाइफगार्ड अस्पतालमा उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

बर्जु गाउँपालिकाका बालक करणकुमार मण्डलले मट्टितेल पिएकोमा उपचारार्थ गत फागुन २६ गते राति ८ः३० अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा चैत १ गते बालकको ज्यान गएपछि बालकका आफन्तले अस्पताल प्रशासन र उपचारमा संलग्न चिकित्सकमाथि लापरबाहीको आरोपसहित कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् । अस्पतालले क्षतिपूर्तिसमेत दिनुपर्ने अभिभावकको माग थियो । अस्पतालले लापरबाही गरेकाले बालकको ज्यान गएको आफन्तले आरोप लगाइरहँदा अस्पतालले भने केरोसिन पोइजनिङ अर्थात् विशाक्त मट्टितेलका कारण बालकको ज्यान गएको बताएको छ ।

उपचारमा संलग्न चिकित्सक नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. शिव राजासहितको टोलीले एक सय २५ मिलिलिटर मट्टितेल पिएका बालकको अवस्था गम्भीर रहेकोमा अस्पतालले एनआईसीयुमा राखी उपचार गर्दा पनि उपचार सम्भव नभएको जिकिर गरेको छ । विषाक्त मट्टिटेल सेवन गरेका बालकमा आसपिरेटरी निमोनिया र फोक्सोले काम नगरेका कारण उनको ज्यान गएको डा. राजाको भनाइ छ । लाइफगार्ड अस्पतालमै उपचारका लागि आएका सुनसरीको खनार घर भएका सात महिने बालक एमडी आयनको पनि उपचारका क्रममा फागुन २८ गते ज्यान गएको थियो । अस्पतालले भने एक हप्ताको अन्तरमा दुई बालकको ज्यान गएको घटना संयोग मात्र भएको दाबी गरेको छ ।

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठ यी दुई घटनाले अस्पतालको सेवा र चिकित्सकको क्षमतामा प्रश्न उठाएको भए पनि अस्पताल प्रशासन र चिकित्सकले कुनै गल्ति नगरेको जिकिर गरे । मृतक बालकका आफन्तले पाँच लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेको भएपनि अस्पतालसँग वार्ताका क्रममा कुनै क्षतिपूर्ति नलिई उपचार खर्च मात्र मिनाहा गराउन सहमत भएपछि बालकको पोष्टमार्टम गरिएको छ ।