इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको याक्थुङ टोल बाढीको उच्च जोखिममा परेको छ ।
बुढीगंगा खोलाको किनारमा रहेको सो टोलको खोला छेउबाट माटो उत्खनन गरेर अन्यत्र लगेपछि यहाँको टोल नै बाढीको जोखिममा परेको हो । यसै टोलमा बसोबास गरिरहेका प्रेम लिम्बूले ‘प्लटिङ’ गर्नको लागि जग्गा बिक्री गरको यहाँका स्थानीय बताउँछन् । ‘प्लटिङ’का लागि बिक्री गरिएको उक्त जग्गा बुढीगंगा खोलाको किनारैमा रहेको छ । खोलाभन्दा ५० मिटर माथिको जग्गामा ‘प्लटिङ’ गरिएको छ । ‘प्लटिङ’ गरेर बाँकी रहेका जग्गाबाट पनि माटो उत्खनन गरेर अन्य ठाउँमा लगेपछि यहाँको बस्तिलाई जोखिम पर्ने भएको हो । ‘यहाँ रहेको जग्गमा ‘प्लटिङ’ गर्नुभयो । बाँकी रहेका जग्गाको पनि माटो उहाँले बेच्नुभयो’, स्थानीय तथा राजनितिज्ञ बहादुरसिंह तामाङ (ज्वाला) भने, ‘यसले वार्षिक रुपमा जमिन कटान गर्दै गाउँतर्फ अगाडि बढेको खोलाले यहाँको बस्तिलाई जोखिममा पारेको छ ।’
यसरी जथाभावी माटो उत्खननले गर्दा यहाँका ३५ घर, खोतियोग्य सयौँ बिघा जमिन, सरकारी विद्यालय र अन्य सरकारी संरचनालाई पनि क्षति पुग्नसक्ने ज्वालाले बताए । ‘यहाँभन्दा तल ३५ घर परिवार छ, सयौँ बिघा खेतियोग्य जमिन छ । यहाँ उत्खनन गरिएको छ । अब बर्खा लाग्दै छ । यहाँबाट बाढी पसेपछि ठूलो जनधनको क्षति हुने सम्भावना छ’, उनले भने । यता ‘प्लटिङ’ गर्नेले भने आफ्नो जग्गा भएकाले जे गर्न पनि पाउने बताउँदै आएको यहाँका स्थानीयको भनाइ छ । निजि जग्गामा आफूखुसी काम गर्न आफूले पनि रोकावट नगरेको तर, एउटा सानो गल्तिले समाज नै बाढीको खतरामा पर्ने भएपछि चुप लागेर बस्न नसकेको ज्वालाले बताए । ‘उहाँहरुले चाहीँ आफ्नो जग्गाको माटो जे गरे पनि हुन्छ भन्ने मान्यता राख्नुभएको छ । उहाँको यो भनाइ जायज छ । तर, उहाँले गर्दा सिङ्गो गाउँलाई नै असर परेको छ’, उनले भने । अहिले यो टोलनजिकै संघीय सरकारको २२ करोड लागतमा पक्कि पुला निर्माण हुँदैछ । यसलाई पनि यहाँ भएको उत्खननले प्रभाव पर्ने सम्भावना रहेको छ । माटो उत्खनन गरेर अहिले खोलाकै तहसम्म पुर्याइएको छ । यसले गर्दा खोला नै ‘डाइभर्ट’ भएर गाउँतर्फ् पस्ने खतरा बढेको छ ।
यसका साथै सरकारको करोडौँको लगानीमा यहाँ बाँध निर्माण गर्ने काम पनि भइरहेको छ । उत्खनन गरिएको ठाउँभन्दा १० मिटर परसम्म बाँध बाँध्ने काम सकिएको छ । यो वर्ष त्यसलाई पनि विस्तार गर्ने काम भइरहेको छ । तर, यहाँको माटो उत्खनन गरेर खोलाकै तहमा समानान्तर पारेकाले झन् जोखिम बढेको छ । वि.सं २०२१ सालदेखि यहाँ बस्दै आएका चन्द्रप्रसाद खतिवडा पनि यहाँ रहेको आफ्नो १२ कठ्ठा जग्गा डुबानमा पर्ने हो कि भनेर चिन्तित बनेका छन् । ‘२१ सालदेखि हाम्रो यहाँ बासोबास रहेको छ । यहाँ मेरो १२ कठ्ठा जग्गा रहेको छ । प्रेम (‘प्लटिङ’ वालालाई जग्गा बिक्री गर्ने व्यक्ति)ले यो जग्गा बिक्री गरे । किन्ने मान्छेले आफूखुसी यहाँ काम गरिरहेको छ । यसले गाउँमा बाढी आउने देखिएको छ । यसले हाम्रो घर र जमिनलाई ठूलो असर पुर्याउँछ’, उनले भने । उनीहरुजस्तै यहाँका स्थानीयले तत्काललाई उत्खनन रोक्न माग गरेका छन् । ‘प्लटिङ’को सिफारीस रोक्का गर्न वडामा डेलिगेसनका लागि जाने एक स्थानीयले बताएका छन् । उनका अनुसार प्रभावित सम्पूर्ण जग्गाधनिले ३ नम्बर वडा कार्यालयमा सो प्लटिङको सिफारिस रोक्काका लागि ज्ञापनपत्र बुझाउने छन् । वडाले उनीहरुको मागलाई चासो नदिए अन्य नियामक निकायमा पनि जाने उनले जानकारी दिए ।