इटहरीः गत फागुन १४ गते मष्तिष्कघात भई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जाशीको निधन भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको नर्भिक अस्पतालले खण्डन गरेको छ ।

अस्पतालको जनसम्पर्क शाखाले आज बिहान ७ बजे विज्ञप्ति जारी गरी नेता जोशीको भेन्टिलेटरमा उपचार भइरहेको प्रष्ट पारेको हो । शाखाका अनुसार अस्पतालमा केहीदिन उपचार गराएपछि स्वास्थ्य अवस्थामा सुधार आई भेन्टिलेटरबाट हटाइएकोमा पुनः स्वास्थ्य अवस्था बिग्रन गई हाल भेन्टिलेटरमै राखी उपचार जारी राखिएको छ । नेता जोशीको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, नेता जोशीको सचिवालयले समेत जोशीको निधन भएको भन्ने भ्रामक समाचारको खण्डन गरेको छ । सञ्चार क्षेत्रबाट तथ्यमा आधारित समाचार सम्प्रेषण हुनुपर्नेमा त्यसो नहुँदा जनमानसमा भ्रम सिर्जना हुनुका साथै परिवारजनमा मानसिक तनाव उत्पन्न हुने सचिवालयको कथन छ ।