इटहरीः प्रस्तुतीकरण, सहभागिता र चर्चा लगायत विभिन्न दृष्टिकोणबाट नेपालको नम्बर एक बन्न सफल लोकप्रिय मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ६’ अर्थात ‘मोडल हन्ट नेपाल २०२१’को विजेता यहि १४ चैत्रमा छानिने भएको छ ।
काठमाडौंको सोल्टीमोड स्थित होटल सोल्टी क्राउन प्लाजामा भव्य समारोहबीच आयोजना हुने प्रतियोगिताका विजेताले उपाधिका साथमा बिभिन्न अवसर र उपहार एकसाथ प्राप्त गर्नेछन् । प्रतियोगितामा ३५ युवा र ३३ युवतीहरु भिड्दै छन् । मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा बिभिन्न प्रशिक्षण सहित उनीहरुले अहिले आफुलाई निखार्दै रहेका छन् । प्रशिक्षणका क्रममा उनीहरुले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिकालगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको आफूमा विकास गरिरहेको कोरियोग्राफर रोजिन शाक्यले बताए । शाक्य प्रतियोगीका मुख्य प्रशिक्षक हुन् । प्रशिक्षणको क्रममा उनीहरुले फेसन सजगता, स्टाइलिङ, मेकअपको ज्ञान, संचार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत विषयमा पनि ज्ञान हासिल गरेका छन् । यी विषयमा माल्भिका सुब्बा, थेन्डुप शेर्पा, सुवर्ण खड्का, सुजन श्रेष्ठ र लुजा मेकअप स्टुडियोले प्रशिक्षको भुमिका निर्बाह गरेका छन् ।
प्रशिक्षणले समग्रमा सहभागीहरु व्यक्तिबाट व्यावसायिक व्यक्तित्व बन्ने आयोजकको विश्वास रहेको छ । रक्तदान, विपन्न तथा अनाथ बालबालिकाको सहयोगार्थ कार्यलगायत विभिन्न सामाजिक काममा समेत प्रतियोगी सहभागी भएका थिए । रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने मोडल हन्ट नेपाल सीजन ६ ग्राण्ड फिनाले अन्तर्राष्ट्रिय स्तरको रनवे सेटमा सोही अनुरुप सञ्चालन हुनेछ । नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको प्रतियोगिताका सहभागी ग्राण्ड फिनालेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका विद्यार्थीले फेसन डिजाइनहरुसहित इन्टा अटायरका फेसन डिजाइनर इन्टा श्रेष्ठले तयार पारेको सुन्दर र विशिष्ट पहिरनमा र्याम्प नाप्नेछन् । प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा सहभागीताको अवसरका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्ड, गोवामा मे महिनामा आयोजना गोवा फेसन वीकलगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजक संस्थाका रवि धमलाले बताए ।