इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका विभिन्न ठाउँबाट संकलन गरेको फोहोर उपमहानगरकै १९ नम्बर वडामा फाल्ने गरेको छ ।
उपमहानगर र स्थानीयवासीले सम्झौता नै गरेर २०७७ सालसम्म त्यहाँ फोहोर फाल्न स्थानीयले दिने र उपमहानगरले त्यो फोहोरलाई पुरिदिने सहमति भयो । र, सोही अनुसार काम पनि भइरहेको छ । सुरुमा इटहरी उपमहानगरले आफँैले फोहोर संकलन गर्ने गरेकोमा अहिले भने उपमहानगरले वेष्ट एण्ड इन्भारोमेन्ट मेनेजमेन्ट प्रालिलाई यसको जिम्मा दिएको छ । सोही कम्पनीले नै अहिले इटहरीको फोहोर संकलन गरिरहेको छ । इटहरी उपमहानगरले फाल्ने गरेको विषयमा समय समयमा विवाद आइरहेको पाइन्छ । हिजो आर्थत् बिहीबार इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का स्थानीयले विरोध मात्र गरेनन्, वेष्ट एण्ड इन्भ्यारोमेन्ट मेनेजमेन्ट प्रा.लिको कार्यालय र इटहरी उपमहानगरपालिकाको वातावरण शाखामा ताला लगाइदिएका छन् । ताला लगाउनुको कारण भने फोहोरमा आगजनी गर्दा आम जनस्वास्थ्यमा गम्भिर असर परेको भनिएको छ । पीडित स्थानीयमध्ये एकले गत बुधबार मध्यरातमा त्यहाँको फोहोरमा आगो लगाएकाले त्यसको धुँवाले मानिसहरु बिरामी परेको बताएका छन् ।
‘हामी इटहरी उपमहानगर १९ नम्बर वडावासीले उनीहरुसँग छलफल गरेको छैठौँ पटक भइसक्यो । तर, त्यो छलफलले हामीलाई कुनै निकास मिलेन । त्यहाँ फालेको फोहोरमा आगो लगाउँदा धुँवा धुलोले अति असर परेको छ । अगाडि भएको सम्झौतालाई पनि हामीले मनन गरेका छौँ । अति नै भइसकेकाले आज (बिहीबार) हामीले ताला लगाएका हौँ’, एक पीडित स्थानीयले भने । ‘हामीले यसको दीर्घकालीन समाधानका लागि दबाब दिनको लागि ताला लगाउन आएका हाँै’, ती स्थानीयले भने, ‘जबसम्म हाम्रो समस्याको समाधान हुँदैन, तबसम्म यो ताला खुल्दैन ।’ बुधबार लागेको आगोका कारण तीन जना स्थानीयको अवस्था गम्भीर रहेको छ । उनीहरु ६० वर्ष माथिका जेष्ठ नगरिक हुन् । उनीहरुलाई राति नै एम्बुलेन्समार्फत् धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयले बताएका छन् । ५० जनाको समूहमा आएका स्थानीयले बिहीबार साढे ९ बजे वेष्ट एण्ड इन्भ्यारोमेन्ट मेनेजमेन्ट प्रा.लिको कार्यालय र १० बजे वातावरण शाखामा ताला लगाएका हुन् । अर्का स्थानीयले त्यहाँ बस्नै नसक्ने भएपछि आमालाई अन्यत्र लगेको बताएका छन् ।
‘बिहान त्यही धुँवाका कारणले दुई÷तीन जनालाई घोपा लगिसकिएको छ । मैले मेरो ममीलाई रामधुनी नगरपालिकामा राखेर आएको छु । यो अत्याचार नै छ, वेष्ट एण्ड इन्भ्यारोमेन्ट मेनेजमेन्ट प्रा.लिको । यो विषयमा चाहीँ सबैले चासो देखाइदिनुपर्यो’, ती स्थानीयले भने । त्यहाँ लागेको आगो इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाको दमकल, इटहरी उपमहानगरपालिकाका कर्मचारी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगो बिहान मात्र दमकल पुग्दा धुँवा १९ नम्बर वडामा मात्र नभएर पकलीसम्म फैलिएको थियो । यसका साथै रामधुनी नगरपालिकाका केही भू–भागमा पनि धुँवा पुगेको स्थानीयले बताएका छन् । अर्का एक पीडित स्थानीय युवाले त, इटहरी उपमहानगरपालिकाले ठेक्का नै गलत तरिकाले लगाएकोे आरोप लगाएका छन् । त्यसैका कारण अहिले विभिन्न समस्या भोग्नु परेको उनको भनाइ छ ।
‘एउटा जिम्मेवारी छ नगरपालिकाको । अवैधानिक तरिकाले, जालसाजीपूर्वक उपमहानगरले ठेक्का लगाएको छ । यो नै गलत छ । यतिका हुँदा पनि यहाँको वातावरण शाखा किन चुप छ । वातावरण शाखा भनेको नगरलाई स्वच्छ राख्न होइन ? अनि यो शाखाले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन त्यसैले हामीले यहाँ पनि ताला लगाएका हौँ’, ती युवाले भने । यता, उपमहानगरले भने आफूले गरेको सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरेको छ । साथै उपमहानगरले फोहोरमा आगो नलगाएको पनि स्पष्ट पारेको छ । माधक पदार्थ सेवन गरेकाहरुले आगो लगाएको हुनसक्ने उपमहानगरको धारणा छ । इटहरी उपमहानगरपालिकाका फोहोर व्यवस्थापनका संयोजक मानध्वज मोक्तानले पूर्ववत् सम्झौता अनुसार नै त्यहाँको फोहोर नियमित रुपमा पुर्दै आएको जानकारी दिए । ‘हामीले १०÷१२ दिनमा स्काभेटर लगेर फोहोर पुर्ने गरेका थियौँ । अहिले पनि लाने बेला भएको थियो । दश दिन मात्र भएको थियो । तर हिजो (बुधबार) रातिचाहीँ त्यहाँ आगो लगाइएछ । त्यहीँ यस्तो मान्छे छन् । हिजो राति मात्र त्यहाँ दुई जना मोटरसाइकलमा गएर आगो लगाएछन्’ उनले भने । ती नै मान्छेले सबैतिर आगो लगाइदिएको उनको भनाइ छ । यता स्थानीयवासी धुँवाको मारमा परेर आन्दोलित बन्नु पनि स्वभाविक भएको उनको भनाइ छ ।
‘त्यो आगोको धुँवाले स्वभाविक रुपमा गाउँमा पिरोल्छ । त्यो पिरोलेको प्रतिक्रिया हो यो’, उनले भने । त्यसलाई रोकथाम गर्न उपमहानगरले हरदम प्रयास गरिरहेको उनले बताए । ‘हामीले रगत पसिना गरेर व्यवस्थापन गरिरहेका छौँ । तर त्यहीँका कालो आत्मा भएका मान्छेहरुले गर्दा यो भइरहेको छ’, उनले भने । साथै उनले वार्तामा आएर समस्याको समाधानको बाटो खोज्न उनीहरुलाई अनुरोध गरेका छन् । उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीले पनि इटहरीमा फोहोर व्यवस्थापन चुनौतिकै विषयका रुपमा रहेको बताएका छन् । उनले आफूले थाहा पाउनासाथ आगो नियन्त्रणको प्रयास सुरु गरेको समेत जानकारी दिएका छन् । ‘इटहरीमा फोहोर व्यवस्थापन चुनौतिकै रुपमा भइरहँदा हिजो एक्कासी आगो लागेको खबर आयो । खबर पाउनासाथ हामीले आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेका थियौँ । मैले इटहरीको दमकल र धरानको दमकललाई पनि खबर गरेँ । दमकलले आगो नियन्त्रण गर्न नसकेपछि हामीले जेसीबी पठाएर आगो नियन्त्रणमा लिएका छौँ’, अधिकृत चौधरीले भने । साथै उनले यसको दीर्घकालीन व्यवस्थापनको लागि उपमहानगरमा आन्तरिक रुपमा छलफल गरेको बताए । सो ठाउँमा आगो कसले लगाउँछ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
उपमहानगरद्वारा छलफलमा आउन अनुरोध, पीडितद्वारा अस्वीकार
यसको साधानका लागि छलफलमा आउन पीडित पक्षलाई इटहरी उपमहानगरले अनुरोध गरेको छ । इटहरी उपमहानगरसम्म पुगेका अन्दोलनरत पीडित पक्षलाई नगर प्रमुख दारिकलाल चौधरी आफैँले बैठकमा आउन अनुरोध गरे । त्यही समयमा पीडित पक्षले पटक पटक बैठक बस्दा पनि समस्याको समाधान नभएको भन्दै बैठकको प्रस्ताव अस्वीकार गरेका छन् । यति मात्र होइन, इटहरी उपमहानगरमा बैठक बस्न आफू नआउने भन्दै बैठक बस्ने नै भए फोहोर फालेको ठाउँमा आउन पीडित पक्षले माग गरेका छन् । ‘हामी त युवा छौँ । हिँड्न सक्छौँ । यहाँसम्म आयौँ । तर, फोहोरमा आगो लगाउँदा वस्तविक पीडित भने बुढापाका छन् । उहाँहरु यहाँसम्म आउन सक्नुहुन्न । त्यसैले अब यसबारे छलफल गर्ने भए उहीँ आउनुहोला’, पीडितमध्येका एकले भने ।