इटहरीः नेपाल आइडल सिजन–२ का विजेता रविलाई उनको निकटतम व्यक्तिले धोका दिएका थिए । यही पीडामा उनले एउटा गीत लेखेर दशरथ सुनारलाई सुनाए । रविले गीतमा आफ्नो भोगाइका कारण सिर्जित मनको बह पोखेका थिए । दशरथले हेरेर ‘ओहो ! हो‚ यो त मेरो भोगाइ हो’ भने । गीत बनाउने निधो भयो । अभिनयका लागि प्रिन्स विश्वकर्मालाई रोजियो । उनलाई पनि गीतको शब्द आफ्नै मनको झैँ लाग्यो । यसरी तयार भयो गीत ‘टुटिसक्यो मुटु’ ।

गीतमा रविको शब्द र स्वर रहेको छ । भीम बिसीको सङ्गीत रहेको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ । भिडियोमा प्रिन्सको साथमा अञ्जना बराइली फिचर्ड छिन् । दशरथ निर्देशित भिडियोमा शर्मिला सुनुवारको शृङ्गार, रामकुमार केसीको छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । रविको जन्मदिनको अवसर पारेर उनको पहिलो एल्बम ‘द लस्ट’ समेत सार्वजनिक गरियो । राजेश हमालको प्रमुख आतिथ्यमा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।

दश गीत समेटिएको एल्बममा धेरै स्रष्टाको शब्द तथा सङ्गीत समेटिएको छ । पहिलो भिडियो सार्वजनिक भएको एल्बमका अन्य गीतहरू एकपछि अर्को गर्दै भिडियोको रूपमा ल्याउने रविको तयारी रहेको छ ।