इटहरीः नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पतालमा आएर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए ।
सो क्रममा उनले जोशीको सिघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए । उपप्रम पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा अपडेट गराएका थिए । उपप्रम पोखरेल १५ मिनेटजति अस्पतालमा बसेर फर्किएका थिए । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।
उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको छ । जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।