इटहरीः नेपालको शिक्षाको इतिहासमा नै पहिलो पटक निजी विद्यालयको तर्फबाट सुनसरीको इटहरीमा वृहत्तर आन्दोलन भएको छ ।

इटहरीको विभिन्न निजी विद्यालयका विद्यार्थीहरुले विद्यालयले मनपरि शुल्क लिएको भन्दै आन्दोलन गरेका हुन् । केही दिन पहिला इटहरीको ९ नम्बर वडामा रहेको कस्तुरी कलेजबाट सुरु भएको विद्यार्थीको अन्दोलनमा अहिले इटहरीका अन्य कलेजले पनि साथ दिएका छन् । निरन्तर आन्दोलन गरेका विद्यार्थीहरुले आज इटहरीको मुख्य चौकमा नै बसेर नराबाजी तथा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले २ घण्टासम्म पूर्ण रुपमा नै इटहरी बन्द गराएका थिए । इटहरीका नाम चलेका कलेजहरुले पनि कलेज नलागेको समयको शुल्क असुलेको भन्दै शुक्रबार विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका हुन् । इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्वआदर्श, कोसी, सुस्मा र कस्तुरी कलेजका विद्यार्थीलाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका हुन् । स्वतस्फूर्त आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले ६ महिना पढाएर १ वर्षको शुल्क मागिएको भन्दै विरोध जनाएका छन् । ‘पैसा बोटमा फल्दैन, अविभावक मार्न पाइँदैन, वि वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै विद्यार्थीहरुले इटहरीका सबै कलेज घेराउ गर्दै प्रदर्शन गरेका थिए ।

aanolita bidyarti (1)

आफूहरुले बिद्यालयमा नपढेको महिनाको समेत पैसा तिर्न लगाएको हुनाले आफूहरु आन्दोलनमा उत्रिएको विद्यार्थी सिया शर्मा बताउँछिन् । ‘हामीलाई एक किसिमले जबर्जस्ति नै गरिएको छ । ६ महिना पढाएर १२ महिनाको फि तिर्न लगाइएको छ । हामीलाई यति साह्रो फोर्स गरिएको छ । कलेजमा कुरा राख्दा पनि हाम्रो कुरा सुनिएन । शिक्षा शाखामा पनि हाम्रो कुरा सुनिएन’, उनले भनिन् । शिक्षा शाखाले कलेजलाई तीन महिनाको शूल्क छुट गरेको भए पनि कलेजले त्यो छुट नदिएको उनले बताइन् । ‘हिजोको मिटिङमा तीन महिनाको पैसा घट्छ भन्दा पनि हिसानले हाम्रो कुरा नमानेर, हामी एक रुपैयाँ पनि घटाउँदैनौँ भनेर हिडेपछि हामीले यो कदम उठाएका हौँ’, उनले भनिन् । यदी अझै आफ्नो माग पूरा नगरे पुनः इटहरीमा वृहत प्रदर्शन, बन्द र आन्दोलन गर्ने उनले बताइन् । ‘यसपछि धेरै ठूलो आन्दोलन हुन्छ र इटहरी बन्द हुन्छ । त्यहाँ जे पनि हुन सक्छ त्यसको जिम्मेवारी कसले लिने हो ? हामी जिम्मेवार हुने छैनौँ ।’ यता, उच्च माविहरुको छाता संगठन हिसानले भने आन्दोलनको कुनै औचित्य नभएको बताएको छ ।

chok (1)

हिसानले आन्दोलनमा आफ्नो भविष्य जोखिममा पर्न नदिन अभिभावक तथा विद्यार्थीहरुमा अपिल गरेको छ । बारम्बार बसेको वार्ता निष्कर्षविहीन भएको र अबको वार्ताबाट विद्यार्थीको माग पूरा हुने हिसान सुनसरी अध्यक्ष मुकुन्द घिमिरेले बताएका छन् । ‘हामी हिजो इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाको समन्वयमा बैठक बसेका थियौँ । विद्यार्थीहरु, विद्यालयका शिक्षकहरु, प्रचार्यहरुसँगै बसेका थियौँ । लगभग हामी सहमतिमा पुगेका थियौँ । एउट समिति बनाउने कुरा भएको थियो । यसरी हामी पोजेटिभ नै हुँदा पनि त्यहाँ हामीमाथि दुव्र्यवहार गर्ने काम भयो ।’ इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने उपमहानगर र कलेज प्रशासनबीच छलफल भएपनि कुनै निर्णय भइनसकेको प्रतिक्रिया दिए । ‘हामीले विभिन्न चरणमा विद्यार्थी र कलेज प्रशासनबीच छलफल गर्नेछौँ । वास्तविकताको नजिक पुगेर उचित निर्णय गर्नेछौँ’, उनले भने । विद्यार्थीहरुले निजी कलेजविरुद्ध गरेको आन्दोलनको जानकारी भएको भन्दै यस विषयमा आफूहरु गम्भीर भएको उनले बताए ।