इटहरीः कोरोना महामारीका कारण विद्यालय बन्द रहेको अवधिको समेत शुल्क भुक्तान गर्न बाध्य पारिएको भन्दै केही दिनदेखि आन्दोलित बनेका इटहरीको निजी कलेजका विद्यार्थीले हिजो चार ओटा कलेजहरुमा तोडफोड गरेका छन् ।
आक्रोशित विद्यार्थीहरुको समूहले विश्वआदर्श, कोसी, सुष्मा र कस्तुरी कलेजमा तोडफोड गर्नुका साथै विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारीमाथि कुटपिटसमेत गरेका छन् । विद्यार्थीहरु तोडफोड र कर्मचारीमाथि कुटपिटमा उत्रिएको भन्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले एक विज्ञप्ति जारी गर्दै इटहरी क्षेत्रका सबै निजी विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हिसानका अध्यक्ष मुकुन्द घिमिरेले जानकारी दिए । अर्को सूचना जारी गरी पठनपाठन सञ्चालन गर्न आफूहरु तयार रहेको तर त्यसका लागि अभिभावक तथा विद्यार्थीहरु वार्तामार्फत् सहमतिमा आउनुपर्ने उनको भनाइ छ । हिसानले विज्ञप्तिमा विद्यार्थी संगठनहरुको अभिव्यक्तिका कारण निजी विद्यालयका विद्यार्थीको आन्दोलन उग्र बनेको आरोपसमेत लगाएको छ ।
हिसानले विद्यार्थी संगठनमाथि आन्दोलनलाई उग्र बनाएको आरोप लगाइरहँदा विद्यार्थी संगठनहरुले भने हिसानमाथि पढाइ नै नभएको अवधिको शुल्क असुलीका लागि दादागिरी गर्न खोजेको आरोप लगाएका छन् । आन्दोलनमा सहभागी हुने विद्यार्थीको भविष्य संकटमा पर्नसक्ने भन्दै हिसानका जिम्मेवार पदाधिकारीहरुले अभिव्यक्ति दिनु धम्कीको भाषा भएको भन्दै उनीहरुले विद्यार्थीको हितविपरीत मनोमानी शुल्क असुल्नु र धाकधम्कीका बलमा विद्यार्थीको आवाज दबाउन खोज्नु भत्र्सनायोग्य कार्य भएको उनीहरुको भनाइ छ । नेकपा एमालेनिकट अनेरास्ववियु केन्द्रीय सदस्य जीबी गजलले हिसानको आरोपको खण्डन गर्दै विद्यार्थी संगठन सँधै विद्यार्थीका साथमा रहने र उनीहरुको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको बताए । आफूहरुले उक्साएको नभई विद्यार्थी चेतनशील वर्ग भएकाले निजी विद्यालयको मनोमानीका विरुद्ध स्वतःस्फुर्त रुपमा सडकमा उत्रिएको उनको भनाइ थियो ।