इटहरीः पूर्व क्षेत्रको शिक्षा विकासमा कोशेढुङ्गा सावित हुने विस्वासका साथ स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयको सेवाप्रति स्थानीयले चरम लापरबाही भएको बताउँदै आएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा रहेको पूवाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयले सहज तरिकाले स्वास्थ्योपचार नदिएको गुनासो बारम्बार आउने गरेको हो । यहाँ अन्य सेवामा भन्दा स्थानीयले स्वास्थ्य सेवामा लापरबाही भएको गुनासो गरेपछि नगरप्रमुख शिवप्रसाद ढकाल र राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले आइतबार विश्वविद्यालय मातहतमा रहको अस्पतालको अनुगमन गरेका थिए । स्थानियले, ‘भित्ता (नागरिक वडापत्र)मा भए बमोजिमका डाक्टर नै अस्पतालमा नहुने । भए पनि समयसम्म नबस्ने’, गुनासो गरे । अनुगमनका क्रममा नै यहाँ आउने सेवाग्रहीले मेयर र सांसदलाई डाक्टरको यहाँ बस्ने समयावधि बढाउन अनुरोध गरे । ‘यहाँ नाम भएका डाक्टरहरुलाई हामी भेट्दैनौँ’, यहाँ आएकी एक सेवाग्रहीले भनिन्, ‘भएका डाक्टर पनि हामीले पुर्जा काटेर लाइन बस्दाबस्दै गइसक्छन् ।’
यहाँ डाक्टरहरु विहान १२ बजेसम्म मात्रै भेटिने गरेका छन् । यसले सेवा ग्राहीलाई असर पारेको टाढाटाढाबाट यहाँ सेवा लिन आएका सेवाग्रहीहरु गुनासो गर्छन् । समयवधी लम्विए यहाँ रहेको डाक्टरको सेवामा आफूहरु विश्वस्त रहेको सेवाग्राहीहरुको भनाइ छ । यस विश्वविद्यालयमा रहेको अस्पतालको विषयमा बिरामीले बारम्बार गुनासो गर्ने गरेकाले अनुगमन गरिएको राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले बताए । ‘यस पूर्वाञ्चल विश्वविद्यालयमा हस्पिटल सञ्चालन गर्दा सेवाग्राहीबाट गुनासो आयो । सेवा लिन आउने, उपचार गर्न आउने बिरामी जो हुनुहुन्छ उहाँहरुले टाइममा डाक्टर आइदिनुहुन्न अनि बीमाको रसिद काटिसक्दा समयभन्दा पहिला नै डाक्टर हिँडिसक्ने हुँदा अप्ठ्रो पर्यो भनेर गुनासो आयो । र, हामी यहाँका भि.सि सर संग बसेर कुरा गर्यौँ’, सांसद रायमाझीले भने । मेयर र सांसदले भी.सी.लाई फिल्डमा नै हिँडाएर अस्पतालको समस्याबारे जानकारी गराएका थिए । यसका साथै अस्पतालको सेवा समयावधि विस्तार गर्न र सेवा प्रभावलाई जनमैत्री बनाउन पनि निर्देशन दिए ।
सांसद रायमाझीले अस्पतालमा डाक्टर बस्ने सेवा अवधि १२ बजेबाट बढाएर ३ बजेसम्म पुर्याउन निर्देश गरिएको जानकारी दिए । ‘हामीले भी.सी. सरलाई बिरामी भएकै ठाउँमा लगेर यहाँको अवस्थाबारे जानकारी गराएँ । यसका साथै डाक्टरको सेवा समय बढाउन पनि हामीले निर्देश गरेका छौँ’, उनले भने । सुन्दरहरैँचामा रहेर यस नगरकै केन्द्रको रुपमा रहेकाले यस अस्पतालमा नगरको पनि विशेष ध्यान गएको नगरप्रमुख शिवप्रसाद ढकालले बताए । यसका साथै यस अस्पतलामा नगरको पहलमा सेवामा पनि विस्तार गरिने जानकारी दिए । ‘हरैँचामा पनि राम्रा अस्पताल छन् । तर, त्यहाँ यहाँको जस्तो मेनपावर नभएकाले हामीले सेवा दिन सकेका छैनौँ । यहाँ त मेनपावर पनि छ । तपाईँहरुले ती मेनपावरको उचित व्यवस्थापन गरेर सेवा प्रवाह गर्नुपर्यो । चाँडै नै यस अस्पतालमा हामी सर्पदंश उपचार केन्द्र र पोस्टमार्टम गर्न सक्ने डाक्टर राखी सेवा सुरु गर्न गइरहेका छौँ’, उनले भने ।