इटहरीः कोरोना महामारीका बेला बन्द रहेको अवधिको समेत शुल्क असुल्न खोजेको भन्दै इटहरीका निजी कलेजहरुविरुद्ध आन्दोलित बनेका विद्यार्थीले कलेजमा तोडफोड गरेपछि बन्द रहेका कलेजहरु भोलि मंगलबारदेखि सञ्चालनमा आउने भएका छन् ।
गत चैत ६ गते आक्रोशित विद्यार्थीहरुको समूहले इटहरीका विश्वआदर्श, कोसी, सुष्मा र कस्तुरी कलेजमा तोडफोड गर्नुका साथै विश्वआदर्श कलेजका सुरक्षा गार्ड मोहनकुमार अधिकारीमाथि कुटपिटसमेत गरेपछि सोही दिन विज्ञप्ति जारी गरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसानको सुनसरी शाखाले भोलिपल्टदेखि इटहरीका सबै निजी कलेजहरु बन्द गरेको थियो । हिसानले आज एक विज्ञप्ति जारी गरी भोलिदेखि कलेजहरुको पठनपाठन नियमित रुपमा सञ्चालन हुने जानकारी दिएको छ ।
हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थी प्रतिनिधिले पनि शैक्षिक प्रतिष्ठानहरुलाई पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको र आफूहरु पनि विद्यार्थीको भविष्यप्रति सचेत रहेकाले शिक्षालय सञ्चालनको निर्णय गरेको उल्लेख छ ।