इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्नसक्ने भन्दै सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ ।

भारतमा कोरोना संक्रमणको विस्तार तिव्र भएपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि देशैभर सतर्कता अपनाउन अनुरोध गर्दै विज्ञप्ति जारी गरेको पृष्ठभूमिमा सुनसरी प्रशासनले पनि सूचना जारी गरी जिल्लावासीलाई सचेत गराएको हो । सुनसरी प्रशासनद्वारा जारी सूचनामा भारतमा संक्रमण दर उच्च रहेकाले अनावश्यक रुपमा भारततर्फ आवतजावत नगर्न तथा सेनिटाइजर, मास्कजस्ता सामग्रीको प्रयोग गरी संक्रमणबाट बच्न अपिल गरिएको छ । प्रशासनले भीडभाडजन्य गतिविधि नगर्न भन्दै संयमतापूर्वक होली मनाउन आग्रह गरेको छ भने होटल, रेस्टुरेन्टजस्ता जमघटजन्य व्यावसायिक प्रतिष्ठानहरु राति अबेरसम्म सञ्चालन नगर्न पनि सचेत गराएको छ ।

कुनैपनि बेला गम्भीर संकट उत्पन्न हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यसअघि स्थापना गरिएका क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न तथा स्वास्थ्य संस्थाहरुलाई सेवा प्रवाहका लागि सतर्क अवस्थामा राख्दै जनचेतनामूलक सन्देशको प्रकाशन प्रसारणमा तिव्र्रता दिन पनि अनुरोध गरेको छ ।

sunsari cdo notice.