इटहरीः मोरङको विराटनगरस्थित अरनिको माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले विद्यालयमा तोडफोड गरेका छन् ।
कक्षा ११ को परीक्षा विद्यालयले नै आन्तरिक रुपमा सञ्चालन गरेकोमा सो परीक्षामा राम्रो नम्बर नदिएको भन्दै विद्यार्थीहरुले तोडफोड गर्दा विद्यालयका झ्यालमा लगाइएका सिसाहरु फुटेको विद्यालयका प्रिन्सिपल राजेश कार्कीले बताए । विद्यार्थीले तोडफोड गर्न थालेपछि प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।
कक्षा १२ मा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल कार्कीको भनाइ छ । गत वर्ष कोरोना महामारीका कारण राष्ट्रिय परीक्षा बोर्डले लिनुपर्ने परीक्षा विद्यालयले नै आन्तरिक व्यवस्थापनमा सञ्चालन गरेको थियो ।