मुम्बईः ‘गंगुबाई कठियावाडी’का निर्देशक सञ्जयलीला भन्साली, अभिनेत्री आलिया भट्ट र लेखकलाई मुम्बईको मझागाउँ अदालतले बोलाएको छ ।

उनीहरुलाई मुम्बईको एउटा मेट्रोपोलिटिन मजिस्ट्रेटले मे २१ मा अदालतमा हाजिर हुन भनेको हो । गंगुबाईका धर्मपुत्र बाबु रावजी साहले उनीहरुविरुद्ध मानहानिको आरोप लगाएपछि उनीहरुलाई बयानका लागि बोलाइएको हो । चलचित्रका कारण उनीहरुको परिवारले बदनामी खेप्नु परेको आरोप रावजीले लगाएका हुन् । यो चलचित्र गंगुबाईको बायोपिक किताब ‘माफिया क्वीन्स अफ मुम्बई’को आधारमा तयार पारिएको हो ।

रावजीका अनुसार किताबमा लेखिएका सबै कुराहरु सत्य छैन । सत्य जाँच नगरी यसैलाई आधार मानेर चलचित्र बनाएर उनीहरुको परिवारको बेइज्जत गरेको रावजीको आरोप छ । यसअघि, रावजीले सेसन्स अदालतमा चलचित्रको प्रोमो र ट्रेलरमाथि रोक लगाउन माग गरेका थिए । तर, अदालतमा उनको यो मुद्दाको सुनुवाइ भएन । सन् २०११ मा आएकोमा किताबमाथि २०२० मा उजुरी सुनुवाइ नहुने भन्दै अदालतले उनको उजुरीको सुनुवाइ गरेन । तर, चलचित्रका कारण रावजीको परिवारलाई मानसिक तनाव भएको भने स्वीकार गरिएको छ । -नवभारत टाइम्सबाट