काठमाडौँः कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गराउन र शान्ति–सुरक्षा चुस्त बनाउन आवश्यक निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । “सरकारले घर–घरमै बसेर होली बनाउन अनुरोध गरिसकेको छ, भिडभाडमा पुगेर समूहगत रुपमा होली नमनाउन भनिसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्न मातहतका सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ,” प्रवक्ता कुँवरले भने ।

यस वर्ष आइतबार पहाडी क्षेत्रमा र सोमबार तराईमा होली मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड–१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरिसकेको छ । काठमाडौँ प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घरभित्रै सीमित गरी सामाजिक–सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ । बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ । यसरी सार्वजनिक स्थानमा आउँदा–जाँदा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने जनाइएको छ । स्वास्थ्य मन्त्रालयले ‘होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौँ, कोरोना होइन, माया बाँडौँ’ भनेर सन्देश प्रवाह गरेको छ । -रासस