बेलबारीः मोरङको बेलबारी न पा वडा नं १ शहीद प्रा वि नजिकै घर भइ सोही स्थानमा स्थायी बसोबास गर्ने विष्णु सुवेदी शनिबार निकै खुसी देखिन्थे । खुुसीको श्रोत थिए सुन्दरहरैँचाका युवा समाजसेवी मनोज दाहाल ।

लामो समयदेखि हिँडडुल गर्न नसक्ने विष्णु व्हिलचियरको सहयोगले मात्र हिँड्न सक्छन् । उनको यो अवस्था देखेर केही दिनअघिदेखि मनोजले व्हिलचियरको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । यसै क्रममा उनी अर्थात् मनोज जोडिन पुगे नेप्लिज युथ पावरसँग । उक्त संस्थाले मनोजको मागलाई जायज भन्दै व्हिलचियर उपलब्ध गराउने निर्णय गर्यो । शनिबार मनोजसहित संस्थाका प्रतिनिधि राजेश आचार्य, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, वडाकी जनप्रतिनिधि विन्दु गुरुङ, युवा समाजसेवी शीतल रायलगायतको टीमले सुवेदीलाई उनकै घरमा पुगेर व्हिलचियर हस्तान्तरण गरेपछि सुवेदीले आफू निकै हर्षित भएको बताए ।

बेलबारी १ को शहीद प्रा वि लाई कार्यक्षेत्र बनाउँदै आएका विष्णुले यस्तो सहयोगले आफूलाई काम गर्न थप उत्साहित बनाएको बताए । उनले सहयोगी संस्था र पहलको अगुवाइ गर्ने मनोज दाहाललाई पटकपटक धन्यवाद व्यक्त गरे । सहयोगी सामग्री हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नेप्लिज युथ पावर र अभियन्ता मनोज दाहाललाई उक्त उदाहरणयोग्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै बेलबारी नगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि वास्तविक अभिभावकको भूमिका निर्वाह गरिरहेको र गरिरहने बताइन् ।