इटहरीः वायुप्रदूषण बढेको भन्दै संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गरी चैत १७ देखि २० गतेसम्म चार दिनका लागि देशभरका सर्बै विद्यालय बन्द गर्नेगरी गरेको निर्णयप्रति देशका विभिन्न स्थानीय तहहरुले असन्तुष्टि जनाएका छन् ।

स्थानीय तहमा रहेका विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई नै दिइएको कानूनी व्यवस्थाका बाबजुद सरकारले संघीयताको मर्मविपरीत देशैभरका विद्यालय बन्द गर्ने एकलौटि निर्णय गरेपछि देशका विभिन्न स्थानीय तहहरुले सरकारी निर्णय अनुसार विद्यालय बन्द गर्न अस्वीकार गरेका छन् । ती स्थानीय तहहरुले सरकारको सूचनालाई चुनौति दिनेगरी अर्को सूचना जारी गरी विद्यालयको पठनपाठन नियमित सञ्चालनमा रहने बताएका छन् । सूचना जारी गरी पठनपाठन नियमित सञ्चालन गराउने स्थानीय तहहरुमा प्रदेश १ को विराटनगर महानगरपालिका, इलाम नगरपालिका, इलामको रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, गण्डकी प्रदेशको भिमाद नगरपालिकालगायत रहेका छन् । वायुप्रदूषण देशका केही शहरी क्षेत्रमा सिमीत रहेकोमा सोही प्रदूषणलाई आधार बनाई वातावरणको स्वच्छताका बाबजुद देशैभरका विद्यालय बन्द गर्नु उचित नभएको ती स्थानीय तहहरुको जिकीर छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रदूषणबाट बालबालिकामा प्रतिकूल प्रभाव पर्नसक्ने भएकाले शिक्षण संस्था बिदा गरिएको उल्लेख छ । तर, परीक्षा सञ्चालनमा भने सरकारले रोक लगाएको देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

shiksha vigyapti