रियादः विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले ‘ग्रिन इनिसिएटिभ’ को वातावरणमैत्री कार्यक्रम अन्र्तगत जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न देशभर १० अर्ब रुख रोप्ने घोषणा गरेको छ ।
‘साउदी ग्रिन इनिसिएटिभ’ मार्फत २०३० सम्ममा साउदीले देशको कार्बन उत्सर्जन कम गराइ, आधा भन्दा बढी ऊर्जा नवीकरणीय श्रोतबाट उत्पन्न गराउने लक्ष्य राखेको छ । यो कदमलाई साउदीका राजकुमार मोहोम्मद बिन सलमानले नै अघि बढाएका हुन् । उनले भनेका छन्, “विश्वव्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकाले पनि जलवायु संकट विरुद्धको लडाईँमा हाम्रो जिम्मेवारीबारे हामी पूर्ण रुपमा सचेत छौँ । त्यसैले तेल र ग्यासको युगमा ऊर्जा बजारलाई दिर्गकालीन र स्थिर राख्दै संसारलाई आगामी ‘हरियो युग’ तर्फ अघि बढाउन हाम्रो भूमिका अहम रहनेछ भन्ने हामीले बुझेका छौँ ।” यो इनिसिएटिभ साउदी अरेबियाको भिजन २०३० परियोजनाकै हिस्सा रहेको समेत उनले बताए । यो योजनामा साउदीलाई तेलप्रतिको निर्भरताबाट पनि मुक्ति दिलाउने लक्ष्य रहेको छ । साउदी अरेबिया अमेरिका पछिकै सबैभन्दा ठूलो तेल उत्पादक मुलुक हो र विश्वव्यापी उत्पादनमा यसले १२ प्रतिशत योगदान पुर्याउँछ ।
राजकुमार सलमानका अनुसार साउदी लगायत सबै खाडी राष्ट्रहरुले मौसम सम्बन्धी चुनौतिहरुको सामना गरिरहेका छन् जसकारण पनि कार्बन उत्सर्जन कम गर्नु अत्यन्तै जरुरी छ । यसले आपतकालीन आर्थिक संकट निम्त्याउने पनि उनले बताए । मध्यपूर्वको प्रमुख शक्तिका रुपमा साउदीले आफू क्षेत्रीय वातावरणका कार्यक्रमहरुमा सहभागी हुन चाहेको पनि दाबी गरेको छ र ‘मिडल इस्ट इनिसिएटिभ’ अन्र्तगत मध्यपूर्वी क्षेत्रभर ४० अर्ब रुख रोप्न चाहेको बताएको हो । राजकुमार सलमानले यो कार्यक्रम विश्वकै सबैभन्दा ठूलो वृक्षरोपण कार्यक्रम हुने बताए । साउदी इनिसिएटिभले मात्र विश्वव्यापी उत्सर्जनको चार प्रतिशत घटाउन सक्ने उनको भनाइ छ । साउदी बाहेक गल्फ क्षेत्रका अन्य मुलुक जस्तै कतारले पनि वातावरणमैत्री कार्यक्रमबारे घोषणा गरिसकेको छ । कतारले अर्को वर्षको विश्वकप फुटबल सुरु हुनु अगाडि यसको तयारीमा १६ हजार रुख रोपिसक्ने दाबी गरेको छ ।
साउदीले यस वातावरणमैत्री परियोजनालाई सिमित पानी भएको क्षेत्रमा कसरी प्रभावकारी रुपमा सञ्चालन गर्नेछ भन्नेबारे चाहिँ विस्तृतमा खुलासा गरेको छैन । तर यसमा देशका सबैभन्दा प्रमुख व्यक्तितवको संलग्नताले यो मुलुकको छवि सुधार्ने प्रयास भएको पनि स्पष्ट पारेको छ । किनकी केही समय अघि मात्र अमेरिकी खुफिया एजेन्सीको डाटाले राजकुमार मोहोम्मदले नै २०१८ मा साउदी पत्रकार जलम खासोग्गीको मृत्यु स्वीकृत गराएको बताएको थियो जो सलमानका आलोचक रहँदै आएका थिए । -द इन्डिपेन्डेन्ट