इटहरीः ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताई चैत ७ गते रिहा भएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ ।

लामो बन्दी जीवनका कारण मानसिक समस्याबाट ग्रस्त बनेका दुर्गाप्रसादको कमजोर आर्थिक अवस्थाका कारण उपचार कसले गर्ला भन्ने चर्चा चलिरहेका बेला प्रदेश सरकारले उनको उपचारको जिम्मा लिएको थियो । प्रदेश १ का कानूनमन्त्री हिक्मतकुमार कार्कीले दुर्गाप्रसादलाई उपचारार्थ आज मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको जानकारी दिए ।

उनका अनुसार डा.पुरु कोइरालाद्वारा दुर्गाप्रसादको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । दुर्गाप्रसादको सम्पूर्ण उपचार सोही अस्पतालमा गरिने उनले जानकारी दिए । अस्पताल सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले अस्पतालले दुर्गाप्रसादको निःशुल्क उपचार गरिदिने गरिदिने बताए ।