ताप्लेजुङः प्रदेश १ का पाँच जिल्लामा एकै साथ स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।

स्वास्थ्य बिमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताए । ताप्लेजुङ, दोलाखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ जिल्लामा एकैपटक कार्यक्रम सञ्चालन भएको आचार्यले बताए । उनका अनुसार बोर्ड स्थापना भएको पाँच वर्षमा ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुुर्याउन सफल भएको छ । ताप्लेजङु जिल्लाका नौ स्थानीय तहका ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रमको सुरु भएको हो । प्रत्येक वडामा एक जना दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा कार्यक्रम सञ्चानल हुने आचार्यले बताए ।

दर्ता सहयोगीको बिहीबारदेखि सदमुकाम फुङ्लिङमा तीनदिने अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । उनका अनुसार आगामी आइतबारदेखि दर्ता सहयोगीले ताप्लेजुङको सबै वडा गएर स्वास्थ्य बिमाको महत्व बुझाउँदै बिमा दर्ता कार्यक्रमलाई अगाडि बढाउनेछन् । सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका र ताप्लेजुङ जिल्ला अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागीहरुको स्वास्थ्य सेवा उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख राजकुमार पोखरेलले बताए । आकस्मिक उपचारका लागि बोर्डसँग सम्झौता गरेको जुनसुकै अस्पतालमा उपचार सेवा पाउने पोखरेले बताए । -रासस