इटहरीः बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबाट मोरङसहित अतिप्रभावित १४ जिल्लाहरुमा विद्यालय सञ्चालनमा रोक लगाएको छ ।
मोरङ, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अतिप्रभावित जिल्ला घोषित गरी ती जिल्लाहरुमा विद्यालय सञ्चालनमा प्रतिबन्ध लगाउनुका साथै अन्य जमघटजन्य सेवाहरु होटल, रेष्टुरेन्ट, जिम, सपिङ मल, सिनेमा हल आदि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न अपिल गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।
छिमेकी मुलुक भारतमा कोरोनाको दोश्रो लहर सुरु भएको केही समयमै नेपालमा पनि संक्रमितको संख्यमा वृद्धि हुन थालेको हो । संक्रमण नियन्त्रणका लागि सीमावर्ति क्षेत्रमा आवागमनमा कडाइ गरिएको सरकारले दाबी गरिरहेपनि प्रहरीको आँखा छली भित्री बाटोमार्फत् सर्वसाधारणहरु निर्वाध रुपमा भारततर्फ प्रवेश गरिरहेका देखिन्छन् ।