इटहरीः सुनसरीको इटहरी ६ स्थित नेसनल गल्लीभित्र चिया पारखीहरुका लागि ‘चिया चौतारी’ सञ्चालनमा आएको छ ।

गत चैत २९ गते विधिवत उद्घाटन गरिएको चिया चौतारीमा विभिन्न ५५ स्वादका चियाहरु उपलब्ध छन् । चियामा थपिने विभिन्न फ्लेवरहरुले चिया पारखीहरुलाई विविधतायुक्त खुराक दिन्छ । चियाका साथमा परिवार तथा साथीहरुबीच रमाइलो गफगाफ वा छलफलका लागि चिया चौतारी राम्रो गन्तव्य हुनसक्छ । चियालाई नै मुख्य परिकारका रुपमा पस्कने विविधताले भरिएको एउटै थलो काठमाडौँ उपत्यकाबाहिर चिया चौतारी नै पहिलो भएको सञ्चालक कैलाश बिष्टले बताए । यहाँ उपलब्ध चियाका सबै आइटमहरु ६ हजार फिटभन्दा माथिको उचाइमा इलामका विभिन्न बगानहरुमा उत्पादन गरिएका उच्च कोटीका चिया रहेका छन् । इलाम चियाका लागि विश्वप्रसिद्ध गन्तव्य हो ।

chiya chautari2.

चिया चौतारीले विदेश निर्यातका लागि तयार गरिएका उच्च गुणस्तरीय अर्थोडक्स चिया स्थानीय उपभोक्तालाई चखाइरहेको छ । उपभोक्ताहरुले सर्वसुलभ मूल्यमा चियाको आनन्द उठाउन पाउनेछन् । प्रतिपट एक सयदेखि पाँच सय रुपैयाँसम्मका विभिन्न चियाहरुको चुस्की चिया चौतारीमा लिन सकिन्छ । सञ्चालक बिष्टका अनुसार एक पटमा एक पटकमा सात कपसम्म चिया तयार गर्न सकिन्छ । एकै पटबाट चार पटकसम्म चिया तयार गरी उपभोग गर्न सकिने हुँदा ग्राहकहरुलाई सस्तो पर्ने सञ्चालक बिष्ट बताउँछन् । ब्ल्याक र ग्रीन टि का साथै मिल्क टि का विभिन्न आइटमहरु चिया चौतारीको मेन्युमा समावेस छन् । मिल्क टि बनाउनका लागि भारतको आसाम र कस्मिरबाट पनि चियापत्ति आयात गर्ने गरिएको सञ्चालक बिष्टको भनाइ छ । तयारी चियाका साथै चियापत्तिसमेत ग्राहकलाई उपलब्ध गराइरहेको छ चिया चौतारीले ।

chiya chautari7

चिया चौतारीले चियाका विभिन्न स्वाद उपभोक्ताको जिब्रोमा पुर्याउनुका साथै उनीहरुलाई चियाबारे ज्ञानसमेत दिने गरेको छ । चिया र यसका फाइदा, बेफाइदा, चियाका प्रकार, चिया पिउने समय, उमेरलगायतका विषयमा जान्न उत्सुक व्यक्तिहरुका लागि चिया चौतारीले निःशुल्क टि सेमिनारसमेत आयोजना गर्दछ । टि सेमिनारका माध्यमबाट उपभोक्ताले लाइसेन्सप्राप्त टि मास्टरमार्फत् निःशुल्क रुपमा चियासँग सम्बन्धित विविध जिज्ञासाको सहज समाधान पाउन सक्छन् । चिया चौतारीमा उपलब्ध निःशुल्क वाईफाई सेवाले ग्राहकलाई इन्टरनेट सञ्जालमार्फत् सूचनाको महामार्गमा सहज पहुँच प्रदान गर्छ ।

chiya chautari3

चियालाई मुख्य आकर्षणका रुपमा प्रस्तुत गरेको चिया चौतारीले आफ्नो मेन्युमा कफीलाई पनि राम्रो स्थान दिएको छ । चिया चौतारीमा विभिन्न २२ स्वादका कफी आइटम उपलब्ध रहेका छन् । यहाँ उपलब्ध कफी उच्च गुणस्तरीय र अर्गानिक प्रकृतिका रहेका छन् ।

चियाका फाइदाहरुः
अर्थोडक्स चियाले रक्तसञ्चारमा सुधार ल्याउँछ
मुटुको कोलेस्टेरोल घटाउँछ
शारीरिक र मानसिक तन्दुरुस्ति बढाउँछ
शरीरका विकारलाई नष्ट गरी कोषहरुलाई उर्जाशील बनाउँछ
ग्रिन टि मा वनस्पतिबाटै पाइने प्राकृतिक चिनी हुने हुँदा रगतमा चिनीको मात्रा नियमित गर्छ
प्रारम्भिक क्यान्सरको लक्षणलाई न्यूनीकरण गर्न मदत गर्छ
शरीरको तौल घटाउन मदत गर्छ
पाचन प्रकृयामा सुधार ल्याउन मदत गर्छ।

chiya chautari5

परम्परा र आधुनिकताको ‘फ्युजन’ झल्कने चिया चौतारीमा दुवै शैलीका खाद्यान्न परिकार र परिदृश्यको आनन्द लिन सकिन्छ । चिया र कफीका अतिरिक्त लस्सी, सातुजस्ता स्वास्थ्यवद्र्धक घरेलु पेय पदार्थसमेत उपभोक्ताका लागि उपलब्ध गराउने चिया चौतारीमा आधुनिक शैलीका पिज्जा, बर्गर, स्याण्डविच, सिजलरजस्ता खाद्यान्नका साथमा परम्परागत शैलीका गुन्द्रुक, ढिडो, फापरको रोटीजस्ता मौलिक नेपाली परिकारसमेत उपलब्ध छन् । चिया चौतारीका परिकारहरु शुद्ध शाकाहारी रहेका छन् । एक कट्ठा क्षेत्रफलमा फैलिएको चिया चौतारीमा विभिन्न बैठक तथा सेमिनारसमेत आयोजना गर्न सकिने प्रबन्ध गरिएको छ । ग्राहकलाई विविधतायुक्त खाद्यान्न तथा पेय पदार्थ उपलब्ध गराई सन्तुष्ट बनाउने चिया चौतारीमा बार ट्रनिङ, बारिस्टाजस्ता व्यावसायिक तथा सीपमूलक तालिमसमेत प्रदान गरिन्छ । ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको चिया चौतारीले १५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको सञ्चालक बिष्टको भनाइ छ ।

chiya chautari8

को हुन् चिया चौतारीका सञ्चालक कैलाश बिष्ट ?
२०४२ सालमा जन्मिएका कैलाश बिष्ट क्रिकेट खेलका प्रशिक्षक हुन् । उनले अष्ट्रेलियाको सिड्नीस्थित क्यारिक युनिभर्सिटीबाट एड्भेन्चर स्पोर्टस् साइन्स विषयमा स्नातक उत्तिर्ण गरेका छन् । सन् २०१० मा अष्ट्रेलिया गएका बिष्ट सन् २०१५ मा अध्ययन पूरा गरी स्वदेश फर्किएका हुन् । पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसमेत रहेका बिष्टले सन् २०१७ मा भारतको पञ्जाब राज्यस्थित पटियालामा रहेको नेसनल इन्स्टिच्युट अफ स्पोर्टस्बाट डिप्लोमा इन स्पोर्टस् कोचिङ स्पेसलाइज्ड इन क्रिकेट विषयको एक वर्षे कोर्ससमेत पूरा गरेका छन् । सो कोर्स सम्पन्न गरी आफू ए प्लस ग्रेडका साथ कलेजकै उत्कृष्ट विद्यार्थी बनेको बिष्ट बताउँछन् ।

kailash bishta.

यसैगरी, बिष्टले सिंगापुरबाट इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) मार्फत् लेभल वन क्रिकेट कोच कोर्ससमेत पूरा गरेका छन् । नेपालमा जम्मा दुईजना मात्र एनआईएस र आईसीसी सर्टिफाइड क्रिकेट प्रशिक्षक रहेको बताउँदै कैलाश त्यसमा राष्ट्रिय टोली प्रशिक्षक जगत टमाटा र आफ्नो मात्र नाम समावेस रहेको बताउँछन् । हाल बिष्ट नेपाल क्रिकेट संघ क्यानका निर्वाचित केन्द्रीय कमिटी सदस्यका रुपमा कार्यरत छन् । उनी प्रदेश १ बाट निर्वाचित भएका हुन् । सुनसरी जिल्ला क्रिकेट संघको अध्यक्षको पनि जिम्मेवारी सम्हालिरहेका बिष्टले आफ्नै स्वामित्वमा इटहरी क्रिकेट एकेडेमी पनि सञ्चालन गरिरहेका छन् । सो एकेडेमीेले क्रिकेट खेलमा रुचि राख्ने नवप्रतिभाहरुलाई निःशुल्क रुपमा क्रिकेट प्रशिक्षण दिने गरेको छ । हालसम्म आठ जना महिला क्रिकेट खेलाडी उत्पादन गरिसकेको बिष्टको भनाइ छ ।

chiya chautari4

बिष्ट १७ वर्षको उमेरदेखि विद्यार्थी राजनीतिमा पनि सक्रिय छन् । २०५९ सालमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा उनी स्वतन्त्र विद्यार्थी युनियनको एकाई कोषाध्यक्षका रुपमा निर्वाचित भएका थिए । अनेरास्ववियुमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका बिष्टले २०६४ सालमा युवा संघ नेपालको नगर सचिव हुँदै अध्यक्षको जिम्मेवारीसमेत पूरा गरिसकेका छन् । हाल उनी युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्यका रुपमा कार्यभार सम्हालिरहेका छन् । लामो समयदेखि इटहरीमा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताहरुको आयोजनामा सक्रिय बिष्टले एक वर्षअघिको योजना अनुसार चिया चौतारी सञ्चालनमा ल्याएका हुन् ।

chiya chautari10. chiya chautari1

chiya chautari9