इटहरीः नेपालमा आज थप नौ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा छ हजार एक सय ५८ परीक्षण गर्दा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पाँच हजार पाँच सय ३७ पिसिआर र छ सय २१ एन्टिजेन परीक्षण गरिएको छ । पिसिआर परीक्षण गराएकामध्ये आठ सय ३६ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ६४ जनामा कोरोना पुष्टि भएको हो । यसका साथै हालसम्म देशभर कुल दुई लाख ८२ हजार आठ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा निको हुने संक्रमितको संख्या दुई सय आठ रहेको छ । यससँगै हालसम्म देशभर दुई लाख ७४ हजार आठ सय १२ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा पाँच हजार आठ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन् । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा मात्र चार जनाले ज्यान गुमाइसकेका छन् । यससँगै हालसम्म कुल तीन हजार ७० जनाको संक्रमणकै कारण ज्यान गइसकेको मन्त्रालयको तथ्याङ्क छ ।