इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रका १४ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएपनि महानगरपालिकाले भने विद्यालय निर्वाध रुपमा सञ्चालन गरिरहेको छ ।
गएको बुधबारसम्म विराटनगरमा फेला परेका कुल एक सय १६ जना संक्रमितमध्ये १४ जनाको उमेर २० वर्षभन्दा कम रहेको तथ्यका बाबजुद विराटनगर महानगरपालिकाले परीक्षा नजिकिएको बहानामा विद्यालय बन्द गर्न आनाकानी गरेको हो । संघीय सरकारले हिजो एक अपिल सार्वजनिक गर्दै कोरोनाबाट अतिप्रभावित मोरङसहित १९ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेपनि महानगरपालिकाले अटेर गरेको हो । सरकारले हिजो मोरङ, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अतिप्रभावित जिल्ला घोषित गरी ती जिल्लाहरुमा विद्यालय सञ्चालनमा प्रतिबन्ध लगाउनुका साथै अन्य जमघटजन्य सेवाहरु होटल, रेष्टुरेन्ट, जिम, सपिङ मल, सिनेमा हल आदि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न अपिल गरेको थियो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली परीक्षा नजिकिएका कारण परीक्षापछि विद्यालय बन्द गर्ने तयारी रहेको बताउँछन् । ‘परीक्षा पनि नजिकिँदै छ, वैशाख अन्तिममा हुने परीक्षालाई अगाडि सारेर परीक्षा सकेर विद्यालय गर्न सकिन्छ,’ उनले भने,‘ सरोकारवाला निकायसँग आज छलफल गर्दैछौँ ।’ सतर्कतासहित परीक्षा सञ्चालन गरेपछि विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको उनले बताए । यता, कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले भने संक्रमणको दोस्रो लहर सुरु भएयता अस्पतालमा कोरोना परीक्षण गर्न आउने र पोजिटिभ पुष्टि हुने दुवै बिरामीको संख्या बढेको बताए । महानगरपालिकाका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीका अनुसार संक्रमण बढेपछि महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा भने तिव्रता दिएको छ ।