इटहरीः इटहरीका समाजसेवी रामचन्द्र अधिकारीको परिवारले स्थापना गरेको तारानिधि धनमाया स्मृति प्रतिष्ठानले शनिबार इटहरीमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा तीन जना व्यक्ति र एउटा संस्थालाई सम्मान गरेको हो । प्रतिष्ठानअन्तर्गत राखिएको एक करोड रुपैयाँको अक्षयकोषबाट साहित्यकार प्रा.डा. टंक न्यौपाने, कान्तिपुर दैनिकका सम्पादक तथा लेखक सुधीर शर्मा, पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य अमर खड्का र इटहरीको माया घर संस्थालाई सम्मान गरिएको हो । तारानिधि धनमाया स्मृति साहित्य पुरस्कारबाट न्यौपानेलाई सम्मान गरिएको हो । उक्त पुरस्कारको राशी ५१ हजार १०१ रुपैया रहेको छ । यस्तै कर्मपिता सुब्बा नारायणप्रसाद रिजालको स्मृतिमा स्थापित ३५ हजार १०१ रुपैयाँ राशीको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरिएको छ । यसैगरी सुनसरीका पत्रकार अमर खड्कालाई नगद २५ हजार १०१ रुपैयाँको स्थानीय पत्रकारिता पुरस्कार दिइएको छ ।

m1

 

उक्त पुरस्कार अधिकारीका सासुससुरा दीनानाथ नारायणीदेवी पौडेलको नाममा स्थापना गरिएको हो । यस्तै संस्थाले २५ हजार १०१ रुपैयाँ राशी रहेको अर्को संस्थागत पुरस्कार इटहरीको माया घरलाई दिइएको छ । बालबालिका र निःसहायहरुको सेवा गर्ने संस्थाहरुमध्ये उक्त पुरस्कार माया घरले पाएको हो । पुरस्कार ग्रहण गर्दै न्यौपानेले उक्त रकम शिक्षाबाट वन्चित हुने अवस्थामा रहेका विद्यार्थीहरुलाई प्रदान गर्ने जानकारी दिए । यस्तै शर्माले संस्थाको उद्देश्य र छवि राम्रो रहेकोले पुरस्कार लिन तयार भएको बताउँदै पुरस्कारले आफूलाई अझ जिम्मेवार बनाएको बताए । स्वागत मन्तव्य दिँदै मनु मन्जिलले अधिकारी दम्पत्तिको सामाजिक कामहरुका साथै सम्मानित व्यक्तिहरुको व्यक्तित्व र कार्यहरुको चर्चा गरेका थिए ।

m3

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्यासीले अधिकारी परिवारको सामाजिक भावना र सक्रियताको प्रसंसा गरे । उनले सम्मानित व्यक्तिहरुको देनको समेत चर्चा गर्दै सम्मान तथा पुरस्कारले सामाजिक भावनाको विकास गर्ने बताए । अधिकारी इटहरीका अग्रज समाजसेवी हुन् । विभिन्न संघसंस्थाहरुलाई उनले आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।