इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि लगिएकी कोरोना संक्रमित महिलाको उपचारको अभावमा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा उदयपुरको गाईघाट घर भएकी ३५ वर्षीया जैनव खातुन रहेको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले बताए । स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ विराटनगर ल्याइएकी खातुनलाई गोल्डेन अस्पतालले एन्टिजेन परीक्षणपछि कोरोना पोजिटिभ देखिएकाले भर्ना गरेन । त्यसपछि विराट मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएकी खातुनलाई सो अस्पतालले पनि भर्ना नलिएपछि आफन्तले म्याक्स अस्पताल लैजानका लागि अस्पताललाई सम्पर्क गरे । तर म्याक्सले पनि कोभिड पोजिटिभ बिरामीलाई भर्ना नगर्ने जवाफ दिएपछि आफन्तले बाध्य भएर खातुनलाई कोसी अस्पतालमा भर्ना गरे ।
कोसी अस्पतालले गम्भीर अवस्थामा भर्ना लिई आइसोलेसनमा राखे पनि उपचार सुरु नगरेपछि आफन्तले उनलाई नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याए । तर, नोबेल अस्पतालले पनि भर्ना गर्न इन्कार गरेपछि पुनः कोसी अस्पताल नै लगिएकी खातुनको केही समयमै बिहान करिब ७ बजे ज्यान गएको हो । ‘उहाँको एन्टिजेन पोजेटिभ हो, पिसिआर भएको थिएन,’ उनले भने, ‘अक्सिजनको मात्रा पनि निकै कम थियो ।’ सुपरिन्टेन्डेन्ट डा.दासले भने । बिरामीलाई अस्पतालसम्म ल्याउँदा दुई सिलिन्डर अक्सिजन सकिएको बताउँदै आफन्तले प्रभावकारी उपचार नपाएर बिरामीको ज्यान गएको गुनासो गरेका छन् ।