इटहरीः कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि सरकारले देशभरका शहरी क्षेत्रमा सञ्चालित विद्यालय वैशाख मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा सञ्चालित विद्यालय बन्द गरी अनलाइनमार्फत् पठनपाठन गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बताए । उनले भने, ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’ उनका अनुसार काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट पठनपाठन सञ्चालन गरिनेछ ।

कोभिड १९ संकट व्यवस्थापन समितिको सुझाव अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहरी क्षेत्रका विद्यालय बन्द गर्न सुझाव दिएपनि मन्त्रिपरिषद्ले निर्णय नगरेपछि मन्त्रालयले गत वैशाख २ गते मोरङ, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, दाङ, सुर्खेत, बारा र बाग्लुङ गरी १४ ओटा जिल्लालाई कोरोना संक्रमणबाट अतिप्रभावित जिल्ला घोषित गर्दै ती जिल्लामा सञ्चालित विद्यालय बन्द गर्न अपिल गरेको थियो ।आजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार देशभरका ६ महानगरपालिकासहित ४० स्थानीय तहमा सञ्चालित विद्यालय तथा विश्वविद्यालय तहका क्याम्पसमा समेत पठनपाठन बन्द हुनेछ ।