इटहरीः भिटामिन ए कार्यक्रमको दोस्रो तथा अन्तिम दिन आज देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ ।

वार्षिक रुपमा दुई पटक राष्ट्रिय स्तरमा खोप कार्यक्रममार्फत् भिटामिन ए र जुकाको औषधि वितरण गर्दै आएको सरकारले यस आर्थिक वर्षको दोस्रो चरणको कार्यक्रम आज सम्पन्न गर्न लागेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच खोप अभियान सञ्चालन गरेको सरकारले प्रतिघण्टा अधिकतम १० जना बालबालिकालाई मात्र भेला पारी औषधि वितरण गर्न सबै जिल्लामा परिपत्र गरी कोरोना संक्रमण नियन्त्रणको प्रयास गरेको छ ।

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र खोप केन्द्रमा उपस्थित हुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । खोप केन्द्रमा मास्क अनिवार्य गरिएको छ भने साबुन पानीले हात धुने प्रबन्धसमेत मिलाइएको छ ।