इटहरीः पूर्वाञ्चल विश्वविद्यालयमा प्रश्नपत्र बाहिरिने घटना एकपछि अर्को गर्र्दै दोहोरिन थालेको छ ।

गएको आइतबार मात्र इन्जिनियरिङ संकायको दोस्रो सेमेस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र बाहिरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । उनका अनुसार सोमबार अर्थात् हिजोको लागि निर्धारित इन्जिनियरिङ संकायकै स्टिल विषयको प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएकाले नयाँ प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको थियो । यसअघि पनि केही दिनअघि इन्जिनियरिङ संकायकै स्नातक दोस्रो सेमेस्टरको भौतिकशास्त्र विषयको प्रश्नपत्र बाहिरिएको बताउँदै नियन्त्रक संग्रौलाले प्रश्नपत्र बाहिर पुर्याउने कार्यमा संलग्न रहेको आशंकामा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

प्रश्नपत्र व्यवस्थापनमा खटिने विश्वविद्यालयको गोप्य शाखाका कर्मचारी नै प्रश्नपत्र बाहिर पुर्याउने काममा संलग्न हुने गरेकाले प्रश्नपत्र बाहिरिने घटना नियन्त्रणमा आउन नसकेको सरोकारवालाको भनाइ छ । परीक्षा नियन्त्रक संग्रौलाले पनि परम्परागत परीक्षा व्यवस्थापन प्रणाली र बिचौलिया गिरोहको सक्रियताका कारण प्रश्नपत्र बाहिरिने घटना नियन्त्रण गर्न नसकिएको बताए । प्रश्नपत्र बाहिरिनु गम्भीर विषय भएको बताउँदै उनले प्रहरीको अनुसन्धानपछि संलग्न अभियुक्तहरुलाई कानून बमोजिम कारबाही गरिने जानकारी दिए ।