लण्डनः टिकटकमाथि अवैध रूपमा लाखौँ युरोपेली बालबालिकाको व्यक्तिगत विवरण सङ्कलन गरेको आरोप लागेको छ ।

बेलायतका लागि बाल आयुक्त एनी लङफिल्डले तेस्रो पक्षको फाइदाका लागि बाइट डान्स कम्पनीले टिकटकमार्फत् निजी डाटा संकलन गरेको आरोप लगाएकी हुन् । “बालबालिका र अभिभावकलाई आफ्ना बालबालिकाको फोन नम्बर, भौतिक ठेगाना र भिडियो जस्ता निजी जानकारीहरू अवैधानिक रूपमा संकलन भइरहेको जान्न पाउने अधिकार छ,” लङफिल्डले भनिन् । सन् २०१८ मे २५ देखि टिकटक प्रयोग गरेका बालबालिकाको निजी जानकारीहरू टिकटकले अवैधानिक रुपमा संकलन गरेको उनको आरोप छ । गोपनीयता र सुरक्षा कम्पनीको उच्च प्राथमिकतामा पर्ने भन्दै टिकटकका एक प्रतिनिधिले सबै प्रयोगकर्ताको सरक्षाका लागि ठोस नीति, प्रकृया र प्रविधिको प्रयोग गरिएको दाबी गरे ।

गत वर्ष अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै टिकटक अमेरिकालाई बिक्री गर्न दबाब दिएका थिए । बालबालिका र युवा पुस्तामा निकै लोकप्रिय बनेको चिचियाँ एप टिकटकको युरोपमा मात्र झण्डै १० करोड प्रयोगकर्ता छन् । लङफिल्डको आरोप पुष्टि भएमा टिकटकलाई लण्डन उच्च अदालतले प्रत्येक बालबालिकालाई हजारौँ पाउण्ड क्षतिपुर्ती दिन निर्देशन दिनसक्ने बताइएको छ । -अल्जजिराबाट