इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा आज बिहान ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका ६ घर भएका ४८ वर्षीय पुरुष रहेको अस्पतालका संयोजक एपोलो भगतले जानकारी दिए । स्वासप्रस्वासमा समस्या आएपछि गत वैशाख ३ गते उपचारार्थ कोसी अस्पताल भर्ना भएका पुरुषको आज बिहान करिब ७ बजे ज्यान गएको उनको भनाइ छ ।
संयोजक भगतका अनुसार लामो समयदेखि मधुमेहको समस्याबाट ग्रस्त रहेका पुरुषमा कोरोना संक्रमणपछि रुघा, खोकी, ज्वरोजस्ता लक्षणसमेत देखिएको थियो । मृतक पुरुषले सुनसरीको इनरुवामा चस्मा व्यवसाय सञ्चालन गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ ।