इटहरीः छिमेकी देश भारतमा भयावह रुप लिँदै गरेको कोरोना भाइरसको दोस्रो लहरले नेपाल पनि अछुतो रहने कुरै भएन ।

नेपालमा पनि अहिले दैनिक दुई हजारसम्ममा संक्रमण र दुई दर्जनभन्दा बढीको मृत्यु हुन थालेको छ । यसै सिलसिलामा कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले लकडाउन गर्न निर्देशन गरेको छ । तर, नेपालमा लकडाउन गरिएको छैन । गत वर्षकै तीन महिना लामो लकडाउन र पटक पटक गरी लागु गरिएको निषेधाज्ञाले सबै क्षेत्रमा ठूलो असर पर्यो । योसँगै नेपालको आर्थिक विकास दरमा पनि भारि गिरावट आएको छ । गत वर्षको लकडाउनले फुटपाथमा सामान बिक्री गर्नेदेखि ठूला व्यवसायी सबैलाई प्रभाव परेको थियो ।

3

भर्खरै तंग्रिँदै गरेको व्यवसायलाई फेरि लकडाउनको हल्लाले निरास बनाएको छ । उच्च स्वास्थ्य सुरक्षा पालना गर्दै व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको र सरकारले त्यही बमोजिम मापदण्ड तयार गर्न व्यवसायीको माग छ । इटहरीका व्यवसायी तथा उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले गत वर्षको लकडाउनको प्रभाव व्यवसायमा अहिलेसम्म देखापरिरहेको बताए । उनले भरखरै जुरमुराउनै लाग्दा लकडाउनको हल्लाले व्यवसायीमा निरासा छाएको बताए । यसका साथै वर्तमान परिस्थितिमा लकडाउन गरिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

इटहरीमा हार्डवेर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भोलाप्रसाद निरौलाले लकडाउन भए आफू मात्र नभएर आफूसँग जोडिएका कर्मचारीलाई पनि प्रभाव पर्ने बताउँछन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र आफूहरु व्यवसाय सञ्चालन गर्न तत्पर रहेको बताउँदै निरौलाले सोही अनुसार सरकारले मापदण्ड तयार गर्नुपर्ने बताए । यसका साथै कतिपय व्यवसायी गत वर्षको घाटा पूर्तिको लागि बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गरिरहेको बताउँदै यसले त्यसतर्फ पनि प्रभाव पर्ने बताउँछन् ।

यता, फुटपाथ व्यवसायीको पनि भनाइ पनि उस्तै छ । उनीहरु पनि लकडाउनको पक्षमा देखिएका छैनन् । इटहरीको धरान रोडको फुटपाथमा फलफूल व्यवसाय गर्दै आएका एक व्यवसायीले लकडाउनले केही नहुने भन्दै व्यक्ति आफँै सजग बन्नुपर्ने बताए । गत वर्षकै लकडाउनले आफूहरु नौ महिना बिचल्लीमा परेको भन्दै फेरि लकडाउन भए आफूहरुको जीविकोपार्जनमा समस्या पर्ने उनको भनाइ छ ।

नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भइसकेकाले स्वास्थ्य क्षेत्रमा आपतकाल आइपर्ने देखिएको छ । यता कोरोनाको दोस्रो भेरियन्टले इम्यूनिटि पावर बढी भएकालाई नै धेरै असर गर्न थालेकाले स्थिति भयावह हुने चिकित्सकहरु बताउँछन् । नेपालमा हाल देखिँदै गरेको कोरोनाको संक्रमण दर भविष्यको खतरनाक संकेत भएको भन्दै त्यसलाई कम गर्न सरकारले तत्काल लकडाउन गर्नुपर्ने आवश्यकता देखिएको इटहरी अस्पतालका डाक्टर शिवकुमार झाले बताए । उनी दैनिक संक्रमण दर र मृत्यु दर नेपालमा बढ्दै गएकाले लकडाउन नगरे नेपाल पनि भारतकै अवस्थामा पुग्ने बताउँछन् । हाल नेपालमा कोरोना फैलिने लहर रोक्नलाई पनि लकडाउन अपरिहार्य रहेको उनको भनाइ छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएर महामारीको रुप लिनै लाग्दा लकडाउन नै उत्तम विकल्प हुने चिकित्सक बताउँछन् । तर, व्यवसायी भने त्यसलाई मान्न तयार छैनन् । सरकारले पनि तत्काल लकडाउन गर्ने कुनै लक्षण देखाएको छैन । अहिले सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि सामान्य जनचेतनाका कार्यक्रममा भन्दा अरुमा खासै चासो देखाउने गरेको पाईँदैन ।

लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा औपचारीक छलफल नै गर्न बाँकी रहेको इटहरीका उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सूवेदी बताउँछन् । केही समयमा नै नगरमा स्वास्थ्यकर्मीसहितको टोलीको बैठक बस्ने र अब के गर्ने भन्ने विषयमा निर्णय हुने उनको भनाइ छ । कोरोना संक्रमणको दर बढी रहेकाले पुर्वतयारी स्वरुप नगरले पुरानै अइसोलेसन केन्द्रलाई पुनः प्रयोगमा ल्याउन लागेको उनले बताए ।