इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका २ घर भएका ४० वर्षीय पुरुष रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि हिजो अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएका पुरुषको हिजै राति १०ः१५ बजे ज्यान गएको हो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका पुरुषमा छाति दुख्ने र ज्वरो आउने लक्षण देखिएकोमा हरसम्भव प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको प्रबन्धक दाहालको भनाइ छ ।
कोभिड महामारी न्यून भइसकेपछि कोभिड उपचार केन्द्र बन्द गरिसकेको नोबेल अस्पतालले बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै हिजोदेखि नै पुनः कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । कोभिड उपचार केन्द्र सञ्चालनमा आएसँगै ६ जना संक्रमित उपचारार्थ भर्ना भएकोमा एक जनाको हिजै ज्यान गएपछि हाल पाँच जना संक्रमितको उपचार जारी रहेको अस्पतालले जनाएको छ ।