इटहरीः मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषहरुको उपचारका क्रममा आज बिहान ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा मोरङको कटहरी गाउँपालिका २ घर भएका ४५ वर्षीय र झापाको झापा गाउँपालिका १० का ५५ वर्षीय पुरुष रहेका अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना गरिएका कटहरीका पुरुषको उपचारका क्रममा आज बिहान ३ः४५ बजे ज्यान गएको हो । मृतक पुरुष पहिलेदेखि नै निमोनियाबाट ग्रस्त रहेको चिकित्सकलाई उदृत गर्दै प्रबन्धक दाहालले जानकारी दिए ।
यसैगरी, वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भई उपचारार्थ नोबेल अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिएका झापाका पुरुषको आज बिहान १ बजे ज्यान गएको प्रबन्धक दाहालले जानकारी दिए । उनका अनुसार मृतक पुरुष लामो समयदेखि मधुमेहबाट ग्रस्त रहेका थिए ।