इटहरीः मोरङका दुई छुट्टाछुट्टै अस्पतालमा उपचारार्थ भर्ना भएका दुई कोरोना संक्रमितको ज्यान गएको छ ।

मृत्यु हुनेमा एक महिला र एक पुरुष संक्रमित रहेका छन् । जिल्लाको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराटनगरस्थित कोसी अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा उपचाररत संक्रमितहरुले ज्यान गुमाएका हुन् । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा ज्यान गुमाउनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ४ घर भएकी ६२ वर्षीया महिला रहेको अस्पतालका कोभिड उपचार केन्द्र प्रमुख सुनिल देवले जानकारी दिए ।

निमोनिया र स्वासप्रस्वासको समस्या देखिएपछि उपचारार्थ अस्पताल भर्ना भएकी महिलालाई केही दिन आईसीयूमा राखी उपचार गरिएकोमा हिजो गरिएको कोरोना परीक्षणबाट संक्रमण पुष्टि भएपछि उपचारार्थ कोसी कोभिड अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि पुनः विराट मेडिकल कलेज शिक्षण अस्पतालकै कोभिड उपचार केन्द्रमा भर्ना गर्न खोजिएकोमा भर्ना गर्न नपाउँदै गएराति १०ः४० बजे महिलाको ज्यान गएको कोभिड उपचार केन्द्र प्रमुख देवले बताए ।

यता, कोसी कोभिड अस्पतालमा भर्ना गरिएका झापाको अर्जुनधारा नगरपालिका ६ घर भएका ३५ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे ज्यान गएको छ । वैशाख ४ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारार्थ कोसी कोभिड अस्पताल भर्ना गरिएका पुरुषको गम्भीर अवस्थामा आईसीयूमा राखी उपचार गरिएकोमा अवस्था थप जटिल बनेपछि हिजो भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखी उपचार सुरु गरिएपनि बिरामीलाई बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।