झापाः कोरोना भाइरस (कोभिड–१९ ) बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौंबाट मोफसल ल्याउन थालिएको छ ।
काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलाई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो । काठमाडौंको ह्याम्स हस्पिटलबाट बेडसिफ्ट गरेर सिम्रिक एयरको हेलिकप्टरबाट बुधबार अपराह्न ५ः४५ बजेतिर उनलाई बिर्तामोडको बीएन्डसी अस्पतालमा ल्याइएको हो । अस्तपतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले काठमाडौंमा सङ्क्रमितको चाप बढेपछि उप्रेतीलाई बेडसिफ्ट गरिएको बताए । झापाको शिवसताक्षी नगरपालिका–८ स्थायी घर भए पनि उप्रेती काठमाडौंमा बस्दै आएका थिए । उनलाई आइसीयुमा राखेर उपचार थालिएको गिरीले जानकारी दिए । बीएन्डसी अस्पतालमा हाल कोभिडको उपचारका लागि २५ शय्याको छुट्टै आइसोलेसन वार्ड सञ्चालनमा छ ।
अहिले पाँच कोभिड–१९ का सङ्क्रमितको उपचार भइरहेको छ । बिरामीको चाप बढेमा आइसोलेसनको क्षमता बढाइने गिरीले बताए । उनका अनुसार राजधानीमा सङ्क्रमितको चाप यति बढ्दै गएको छ कि शय्या पाउन पनि मुस्किल हुँदै गएको अवस्था छ । बीएन्डसीमा कोरोना सङ्क्रमित र अरु बिरामीलाई सुरक्षित उपचार गर्न भिन्नाभिन्नै ब्लक सञ्चालनमा ल्याइएको उनको भनाइ छ । काठमाडौंबाट अरु सङ्क्रमितले समेत बेडसिफ्ट गरेर आउनका लागि सम्पर्क गरिरहेको गिरीले बताए ।
यसैबीच झापामा एक जना प्रदेशसभा सदस्य र तीन जना पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ । झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई कोरोना सङ्क्रमण भएको छ ।नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना पुष्टि भएको हो । सङ्क्रमित चारै जना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहेका छन् ।
पालोमा सेवा दिन अनुगमन टोलीको आग्रह
झापाको दमकस्थित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार सरकारी कार्यालयहरुको अनुगमन गरी पालोमा सेवा प्रवाह गर्न सुझाव दिएको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको नेतृत्वमा रहेको अनुगमन टोलीले मालपोत कार्यालय, नापी कार्यालय, गोरखा डिपार्टमेन्ट स्टोर, एनएमबी बैङ्कलगायतमा अनुगमन गरेको थियो । सेवाग्राहीको भीडभाड हुँदा कोरोनाको सङ्क्रमण फैलिने जोखिम भएको जनाउँदै अनुगमन टोलीले मालपोत र नापी कार्यालयलाई तत्कालै क्षेत्रगत पालो प्रणाली लागू गरेर सेवा प्रवाहित गर्न आग्रह गरेको छ ।
झापामा तत्काल निषेधाज्ञा नहुने
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापामा तत्कालै निषेधाज्ञा जारी नहुने बताएका छन् । पूर्वीनाका काँकडभिट्टामा बुधबार सीमाको सुरक्षा व्यवस्था र कोभिड–१९ को नियन्त्रण प्रयासलाई प्रभावकारी तुल्याउने विषयमा सरोकारवालासँगको छलफल कार्यक्रममा उनले निषेधाज्ञा जारी नहुने बताए । जिल्लामा हालसम्म कोभिड–१९ का १९४ सक्रिय सङ्क्रमित रहेको हुँदा यसलाई कम गर्दै लैजानका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड र सरकारी निर्देशनलाई कडाइका साथ पालना गरिनु पर्ने प्रजिअ तिम्सिनाको भनाइ थियो । उनले तराईमा पाँच सय र पहाडमा दुई सय कोरोना सङ्क्रमितको सङ्ख्या पुगेपछि मात्र निषेधाज्ञा जारी गर्न बाध्य हुनुपर्ने कानूनी व्यवस्था प्रष्ट पार्दै हाल झापामा त्यस्तो अवस्था नरहेको बताए । -रासस