इटहरीः आज नेपालमा थ चार हजार नौ सय २९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १३ हजार पाँच सय ६० स्वाब नमुनाकोे पिसिआर परीक्षणबाट चार हजार नौ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कोरोना महामारीको दोस्रो लहर सुरु भएयताकै सबभन्दा ठूलो भएको मन्त्रालयको भनाइ छ । हाल देशभर ३४ हजार एक सय १७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा रहनेको संख्या ३० हजार नौ सय १६ रहेको छ ।
सक्रिय सङ्क्रमितमध्ये ३ सय ३७ जना आईसीयूमा र एक सय ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज देशभर ३५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या देशभर तीन हजार दुई सय ४६ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा आठ सय ८८ जना निको भएका छन् ।