इटहरीः कोरोना संक्रमण भई काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । उनीमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।
पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।