इटहरीः मोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने भएको छ ।
अक्सिजन प्लान्ट स्थापनाका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले आर्थिक सहायता उपलब्ध गराएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनका अनुसार अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक संरचना निर्माण सम्पन्न भइसकेको छ भने केही समयपछि मेसिन जडान गर्ने अस्पतालको तयारी छ । वैशाख मसान्तसम्ममा मेसिन विराटनगर ल्याउनेगरी प्रकृया अगाडि बढाइएको दासको भनाइ छ ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको खपत बढेकाले सहयोगी संस्थालाई चाडो मेसिन उपलब्ध गराउन आग्रह गरिएको उनले बताए । हाल निजी अक्सिजन उद्योगबाट अक्सिजन आयात गरी अस्पतालको माग धानिरहेकोमा प्लान्ट स्थापनापछि दैनिक एक सय सिलिन्डर अक्सिजन अस्पतालमै उत्पादन हुने सुपरिन्टेन्डेन्ट दासले उल्लेख गरे ।