इटहरीः संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुनसरीसहित देशभरका २२ जिल्लामा कोरोना संक्रमणको दर नियन्त्रण गर्न नसकिने गरी बढेको भन्दै सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमणको दर बढेकाले अस्पतालमा राखेर हेरचाह गर्नका लागि शैय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको मन्त्रालयद्वारा जारी अपिलमा उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित अपिलमा संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरुको पालना नै उत्तम विकल्प हुने भएकाले सोको कडाइका साथ पालना गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।

भीडभाडजन्य गतिविधि गर्ने तथा आन्तरिक तथा बाह्य पर्यटनका लागि देश तथा विदेशका कुनै पनि ठाउँमा जाने कार्य पूर्ण रुपमा बन्द गर्न पनि मन्त्रालयले सुझाव दिएको छ । मन्त्रालयद्वारा जारी अपिलमा सुनसरीका अतिरिक्त मोरङ, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, कास्की, काभ्रे, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर अस्वभाविक रुपमा बढेको जनाइएको छ ।

swasthya mantralay vigyapti.