विराटनगरः विराटनगरका उद्योगी व्यवसायीले तीव्र गतिमा फैलिरहेको विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमण रोक्न भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्न माग गरेका छन् ।

उनीहरूले सिमानामा स्थापना गरिएको हेल्थडेस्कमै पीसीआर परीक्षणको लागि स्वाब लिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति प्रकासित गरी संक्रमितको संख्याका साथै मानवीय क्षति समेत दिनानुदिन वृद्धि भइरहेकोले यसलाई रोकथाम गर्न कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका हुन् । उच्च दरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छिमेकी मुलुक भारतबाट लुकिछिपी मानिसहरू नेपाल आईरहेको सन्दर्भमा संक्रमणको फैलावट बढ्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गरिएको छ । “सिमानाका मै स्वास्थ्य डेस्क राखी तत्काल पीसीआार परीक्षण गर्ने र २४ सै घण्टा सिमानामा सुरक्षाकर्मीहरूको कडा निगरानीको व्यवस्था गरी चेकजाँच विना आवत जावत पूर्ण रुपमा वन्द गर्न” विज्ञप्तिमा भनिएको छ ।

महामारीबाट नागरिकलाई सुरक्षित राखी भय र त्रासमुक्त बनाउन कोरोनाविरुद्धको भ्याक्सिन) सर्वसाधारणलाई उपलब्ध हुने गरी अविलम्ब व्यवस्था मिलाउन पनि उद्योगी व्यवसायीले आग्रह गरेका छन । उनीहरूले संघीय सरकारले आफनो सम्पूर्ण संयन्त्र परिचालन गरी भ्याक्सिन खरिदमा हुने प्रक्रियागत ढिला सुस्ती नगरी १५ दिनको यो लकडाउनको अवधिमा भ्याक्सिन खरिद गरेर उद्योगी÷व्यवसायी, कर्मचारी, श्रमिक तथा सर्वसाधारणहरूलाई लगाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । यसैगरी नेपाल पर्याप्त मात्रामा अक्सिजन उत्पादन भएपनि सिलिन्डरको कमीका कारण अक्सिजन अभावजस्तो देखिएकाले सिलिन्डरको कमी हुन नदिन तत्कालै छिमेकी चीन लगायतका मुलुकबाट हवाई मार्ग प्रयोग गरी पर्याप्त सिलिन्डर ल्याउने व्यवस्था मिलाई अपुग अक्सिजनको व्यवस्था गर्न अनुरोध गरिएको छ । संक्रमितहरूको उचित व्यवस्थापन तथा उपचारका लागि क्वारेन्टाइन र आइसोलेसन तथा सहज स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्था गर्न पनि व्यवसायीले माग गरेका छन् ।

उद्योग संठनका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् । -बाह्रखरीबाट