इटहरीः मोरङको विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रको क्षमता विस्तार गरिएको छ । यसअघि ३२ शैय्यासहित सञ्चालनमा रहेको अस्पतालमा ९६ शैय्या थप गरी एक सय २८ शैय्या कायम गरिएको प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।

Koski-Covid-Nirikshan

उनका अनुसार प्रदेश १ सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा सञ्चालित अस्पतालको क्षमता विस्तार भएसँगै आजैबाट बिरामी भर्ना सुरु गरिएको छ । प्रत्येक सिफ्टमा १९ जना स्वास्थ्यकर्मी परिचालन गरी अस्पतालको सेवा चुस्त दुरुस्त राख्ने प्रबन्ध गरिएको मन्त्री राईको भनाइ छ । विराटनगरबाहिर जिल्ला स्तरमा पनि २० बेडसम्मको आइसोलेसन केन्द्र तथा सात स्थानमा होल्डिङ सेन्टर निर्माण गर्ने प्रदेश सरकारको योजना रहेको अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

उनका अनुसार सुनसरीको भान्टाबारी, विराटनगरको रानी, झापाको काकडभिट्टा, गौरीगञ्ज, इलामको पशुपतिनगर, सोलु, ओखलढुङ्गा र खोटाङ जिल्लामा होल्डिङ सेन्टर स्थापना गरिने भएको छ ।